अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाका राष्ट्रपति अहमद अल-शारासँग भेटेपछि सिरिया माथिको प्रतिबन्ध हटाएका छन्।
एक वर्ष अघिसम्म आतंककारी भनेर अमेरिकाले अल-शाराको टाउकोमा एक करोड डलरको इनाम तोकेको थियो। तिनै अल-शारा सन् १९४६ मा फ्रान्सबाट स्वतन्त्रता हात लागेपछि ह्वाइट हाउसको भ्रमण गर्ने पहिलो सिरियाली राष्ट्रपति बनेका छन्।
उनीसँग सोमबार भेटेपछि ट्रम्पले भने, 'मानिसहरू भन्छन् कि उनको विगत नराम्रो थियो। हामी सबैको नराम्रो विगत हुन्छ।'
यदि उनको नराम्रो विगत नभएको भए, उनीसँग मौका पनि हुने थिएन भन्ने ट्रम्पले जिकिर गरे।
गत वर्ष अल-शाराले बशर अल-असदको सत्ता पल्टाउन प्रमुख भूमिका खेलेका थिए।
असदको विरूद्ध लडेका विद्रोहीमध्ये सबैभन्दा बलियो हयात तहरिर अल-शामको नेतृत्व गरेका ४३ वर्षीय शाराको विद्रोही नेता हुँदाको उपनाम अबु मोहम्मद अल जोलानी थियो।
सिरियामा सत्ता कब्जा गरेपछि सुरूमा उनले आफू सरकार प्रमुख नबनेर इद्लिब सहरमा उनको समूहले चलाएको सरकारका प्रमुख मोहम्मद अल-बशिरलाई सिरियाको प्रधानमन्त्री बनाएका थिए। तर कुनै आधिकारिक सरकारी पदमा नभए पनि उनी नै सिरियाको राष्ट्रप्रमुख सरहको हैसियतमा थिए। पछि भने आधिकारिक रूपमा उनले आफूलाई संक्रमणकालीन राष्ट्रपति घोषणा गरे।
करिब १५ हजार लडाकू भएको उनको समूहको नेतृत्वमा असदलाई देशबाट धपाएपछि सर्वस्वीकार्य नेताका रूपमा प्रस्तुत गर्दै उनले आफ्नो खास नाम अहमद अल-शारा प्रयोग गर्न थालेका हुन्।
सन् २०२१ मा अमेरिकाको पब्लिक ब्रोडकास्टिङ सर्भिसलाई (पिबिएस) दिएको अन्तर्वार्तामा उनले दिएको जानकारी अनुसार उनको जन्म साउदी अरबियामा सन् १९८२ मा सम्पन्न सिरियाली सुन्नी परिवारमा भएको थियो। उनका बुवाले त्यहाँ १९८९ सम्म तेल इन्जिनियरको रूपमा काम गरेका थिए। त्यसपछि बुवा सहित उनको परिवार सिरिया फर्कियो। राजधानी दमास्कसको बाहिरपट्टिको मेजेहमा हुर्केका थिए।
सन् २००० मा प्यालेस्टिनीले इसराइलविरूद्ध सुरू गरेको दोस्रो इन्तिफादा अर्थात् आन्दोलनपछि उनी इस्लामी कट्टरपन्थीप्रति आकर्षित भएको बताएका थिए।
सन् २००१ सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको अल-कायदा समूहले न्यू योर्कको ट्विन टावरमा आतंककारी हमला गरेपछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशले छेडेको ‘आतंकवादविरूद्ध युद्ध’का कारण मुसलमानप्रति आक्रमण हुन थालेपछि त्यो भावना झन् झाङ्गिएको मानिन्छ।
बुसले २००३ मा सद्दाम हुसेनसँग ‘आम संहारकारी’ हतियार भएको झुटो बहानामा इराकमाथि आक्रमण गर्दा केही हप्ताअघि मात्रै उनी दमास्कसबाट इराक पुगेका थिए।
त्यहीँ उनले अमेरिकी सेनासँग लड्न थाले। उनले अबु मोहम्मद अल जोलानी उपनाम राखे र छिटो-छिटो तरक्की गर्न थाले।
सन् २०२१ मा पिबिएसलाई दिएको अन्तर्वार्तामा उनको परिवार इसराइली सिमानामा रहेको गोलान हाइट्सका भएकाले सो उपनाम चयन गरेको खुलाएका थिए।
उनका अनुसार इसराइलले सन् १९६७ को छ दिने अरब-इसराइल युद्धपछि सिरियाको गोलान हाइट्स कब्जा गरेपछि उनको परिवार त्यहाँबाट विस्थापित भएको थियो।
उनलाई सन् २००५ मा अमेरिकी सेनाले पक्रेर बुक्का क्याम्पमा थुन्यो। त्यसपछि उनको संगत अल-कायदा कमाण्डरहरूसहित पक्राउ परेर त्यहाँ थुनिएका अबु बकर अल-बग्दादीसँग भयो।
सन् २०११ मा उनी रिहा भएपछि बग्दादीले संगठन विस्तार गर्नका लागि उनलाई झोलाभरि पैसा दिएर भर्खरै भीषण गृहयुद्ध सुरू भएको सिरिया पठाए। उनले सिरियामा खोलेको संस्थाको नाम नुस्रा फ्रन्ट राखे। असदको सत्ताविरूद्ध इराक र टर्कीमा पनि रहेका अल्पसंख्यक कुर्द, सिरियाको उत्तरतर्फको छिमेकी टर्कीले चलाएको सुन्नी समूह लगायत धेरै समूह सामेल थिए। ती धेरै समूहमध्ये जोलानीको नुस्रा फ्रन्ट सबभन्दा शक्तिशाली थियो।
त्यतिबेला हिंसात्मक आतंककारी गतिविधिका कारण अमेरिकाले नुस्रा फ्रन्टलाई आतंककारी घोषणा गर्यो। अनि जोलानीको टाउकोको मोल एक करोड डलर तोक्यो। असदको सत्ता ढालेर सिरियाको प्रमुखको हैसियत बनाएपछि भने अमेरिकाले सो इनाम हटाएको थियो।
सन् २०१३ मा सद्दामको सेनामा रहेका अब्बल सुन्नी सैनिकहरू पनि सामेल भएपछि अल-बग्दादीको समूहले इराकको धेरैजसो भाग कब्जा गर्यो र सिरियासमेत संगेटेर मुस्लिम राज्य (क्यालिफेट) बनाउने अभियानमा लाग्यो। सिरियाको नुस्रा फ्रन्टलाई पनि गाभेर बग्दादीले समूहको नाम आइसिस राखे।
अल-कायदा नरम भएको आरोप लगाउने आइसिस धेरै कट्टर भएको भन्दै उनले बग्दादीको घोषणा मानेनन्। र नुस्रा फ्रन्टलाई अल-कायदाको सिरियाला शाखा भएको घोषणा गरे।
उनले सन् २०१३ मै सुन्नी कतारको सरकारी लगानी भएको अल-जजिराका लागि अन्तर्वार्ता दिँदा पहिलो पटक क्यामेरा अघि आएका थिए। अरू कट्टरपन्थी जस्तै उनले अनुहार कालो कपडाले छोपेर ढाड मात्रै देखाएका थिए।
बग्दादीबाट अलग्गिएपछि उनले असदको सेना सँगसँगै आइसिससँग पनि लडे। उनी त्यतिबेलै पनि आइसिसभन्दा नरम थिए र उनका विद्रोहीहरू विरोधी र सर्वसाधारणप्रति आइसिस जति क्रुर थिएनन्।
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले असदले आफ्ना जनता विरूद्ध रासायनिक हतियार प्रयोग गरेर लक्ष्मण रेखा पार गरे भने सिरियामा हमला गर्ने उद्घोष गरे। तर दमास्कस बाहिरको क्षेत्रमा असदले सन् २०१३ अगस्टमा सरिन ग्यास प्रयोग गरेर ओबामाले कोरेको लक्ष्मण रेखा पार गरे पनि उनले त्यहाँको गिजोलिएको परिस्थितिका कारण केही गरेनन्।
महाशक्ति अमेरिकाको राष्ट्रपतिले कोरेको लक्ष्मण रेखाको उल्लंघन गर्दा पनि केही नगरेपछि असदको हौसला बढ्यो। असद मात्रै नभएर उनलाई सहयोग गरिरहेको इरानको पनि बढ्यो। टाढैबाट सहयोग गरिरहेको रूसले पनि असदको पक्षमा लड्न सेना पठायो।
रूसी वायुसेना, इरानी सेना र सीमापारि लेबननमा इरानले इसराइलका विरूद्ध चलाएको शिया समूह हिजबुल्लाहका लडाकूले असदका लागि लडेकाले ठूलो रक्तपातपछि असदको सत्ता जोगियो। पूरै सिरिया कब्जा गर्न लागेका विरोधीहरू टाढा-टाढाका क्षेत्रमा मात्रै खुम्चिए।
त्यसपछि भने जोलानीले आफ्नो छवि झन् नरमपन्थी बनाउने प्रयास गर्न थाले।
उनले सन् २०१६ मा अल-कायदासँगको सम्बन्ध तोडे र समूहको नाम जबात फतह अल-शाम राखे। पछि सन् २०१७ मा अरू केही सुन्नी समूहसँग गाभेर त्यसलाई हयात तहरीर अल-शामको नाम दिए।
उनको समूहको कब्जामा रहेको इद्लिब सहर सहितको क्षेत्रमा सरकार चलाउँदा स्थायित्व, शिक्षा र स्वास्थ्य लगायत सार्वजनिक सेवा र पुनर्निर्माणलाई प्राथमिकता दिए। उनले अल्पसंख्यक र सर्वसाधारणलाई चरम दमन पनि गरेनन्। उनले आफ्नो सरकारलाई सिरियाली मुक्ति सरकार नाम दिए।
केही वर्षदेखि विस्तारै आफ्नो पहिरनमा पनि परिवर्तन गर्न थालेका जोलानी २०२१ मा पिबिएससँगको अन्तर्वार्तामा त २०१३ को जस्तो कट्टरपन्थी लडाकू जस्तो नभएर ब्लेजर लगाएर छोटो कपालमा जेल लगाएर देखापरेका थिए।
उनको समूहले बिस्तारै प्रमुख सहरहरू कब्जा गरिरहँदा उनले अल्पसंख्यकलाई आश्वास्त पार्न लगातार जसो कसैमाथि दमन नगर्ने सन्देश प्रवाह गरिरहे। उनको समूहका लडाकूलाई संयमता अपनाउन निर्देशन दिइरहे। राज्य संरचना ध्वस्त नगर्न र अरू धर्म र समुदायका जनतामाथि आक्रमण नगर्न भनिरहे।
अहिले पनि उनले अमेरिका लगायत पश्चिमा देशलाई अरू धर्म र समुदायका अल्पसंख्यक माथि आक्रमण नगर्ने र महिलालाई पनि अधिकार सुनिश्चित गर्ने आश्वासन दिइरहेका छन्।
उनको आश्वासनका बाबजुद सिरियामा अल्पसंख्यकमाथि दमन अहिले पनि रोकिएको छैन।
उनको शासनमा अल्पसंख्यकमाथि आक्रमण भइरहे पनि गत मे महिनामा मध्य-पूर्वको भ्रमणमा गएका बेला ट्रम्पले अचानक उनलाई भेट दिएका थिए। साउदी अरबमा शासन चलाइरहेका मोहम्मद विन सलमानको आग्रहमा ट्रम्पले रियाधमा उनलाई भेट दिएको मानिन्छ।
राम्रा मान्छे मन पराउने ट्रम्पले त्यतिबेलै उनलाई ‘आकर्षक’ भनेर तारिफ गर्दै उनीसँग आफ्नो राम्रो सम्बन्ध भएको टिप्पणी गरेका थिए।
अहिले भने ट्रम्पले उनलाई ह्वाइट हाउसमै अतिथि सत्कार गरेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)