नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले महाधिवेशन सम्बन्धी पूर्वकार्य नगर्दा पार्टीको छवि धमिलिन पुगेको बताएकी छन्।
आफूले दुई महिनाअघिको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महाधिवेशन सम्बन्धी तयारी गर्न भनेको पनि उनले सम्झिइन्।
सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री उपाध्यायले महाधिवेशन तयारीको ढिलाइले केवल भ्रम र असन्तुष्टि बढाउँदै लगेको बताइन्।
‘अधिवेशनका लागि आवश्यक पूर्वकार्य सुरू नगरी बाहिर पार्टी विवादग्रस्त छ भन्ने सन्देश प्रवाह गर्नुले हाम्रो संस्थागत छवि धमिलिन पुगेको र नकारात्मक प्रभाव जनमानसमा छरिएको र संगठनलाई कमजोर देखाउने मौका पाइरहेका छन्। त्यसैले म विनम्रतापूर्वक सुझाव दिन चाहन्छु- अब दोष खोज्ने वा धार बनाउने होइन, जिम्मेवारी लिन र काम सुरू गर्ने समय हो। अधिवेशन केवल प्रक्रियागत अभ्यास होइन, यो हाम्रो लोकतान्त्रिक प्रतिबद्धता र पार्टीलाई सुदृढ गर्ने अवसर पनि हो।’
उनले सबै मिलेर स्पष्ट निर्णयमा पुग्दै महाधिवेशनको आवश्यक तयारी गर्नुपर्ने बताइन्।
‘यही बाटो हाम्रो एकता र सशक्तताको आधार बन्न सक्छ,’ उनले भनिन्।
सामूहिक जिम्मेवारी, पारदर्शिता, सहकार्य र विश्वासबाट पार्टीलाई पुन: प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।
उनले क्रियाशील सदस्यता समयमै नवीकरण गर्न नसकिएको बताएकी छन्।
महाधिवेशन नजिक आएपछि हतार हतार सदस्यता नवीकरण गर्ने पुरानै प्रवृत्ति रहेको उनको भनाइ छ।
उनले महामन्त्री गगन थापालाई ‘रूपान्तरणको नारा कहाँ गयो’ भनेर प्रश्न समेत गरेकी छन्।
‘रूपान्तरण भन्ने कुरा केवल व्यक्तिको अदलबदलमा मात्रै सीमित रहने हो?,’ उनको प्रश्न छ, ‘कि प्रणाली, व्यवहार र संस्कृतिको सुधारमा केन्द्रित हुने हो? साँचो रूपान्तरण भनेको जिम्मेवारीप्रति इमानदारी र विधानप्रति निष्ठा हो।’