संघीयताको विरोध गर्दै जनमत बटुलेको राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेश सांसदमा प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन।
प्रत्यक्ष निर्वाचनमा चुनाव हारे पनि राप्रपाले समानुपातिकमा राम्रै मत बटुल्यो। जुन मतले प्रदेश सभामा राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरूङ र केन्द्रीय सदस्य विन्दु पहाडीलाई सांसद निर्वाचित गरायो।
प्रदेश सभामा मन्तव्य राख्दा पनि संघीयताको विरोध गर्न नछुटाउने राप्रपा सांसदद्वयले प्रदेशबाट पाउने सुविधामा कुनै कञ्जुस्याईं गरेन। प्रदेशमा सरकार बनाउने र गिराउने खेलमा लागेका सांसदद्वयले यसअघि नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन मत दिए। पाण्डे नेतृत्वको सरकारमा राप्रपा सांसद गुरूङ युवा तथा खेलकुद मन्त्री समेत बने।
सत्ताको जोडघटाउमा जब कांग्रेस र एमाले मिल्न पुगे, कांग्रेस नेता पाण्डेलाई एमालेले समर्थन दियो। सरकारबाट राप्रपा र माओवादी केन्द्र बाहिर रह्यो। सरकारबाट हट्दा पनि सरकारलाई दिएको समर्थन भने अहिलेसम्म राप्रपाले फिर्ता लिएको छैन।
संसदमा प्रतिपक्ष बेन्चमा बस्ने गरेको राप्रपाका यी दुई सांसदले प्रदेश सभाबाट पाउने सुविधा भने उपभोग गरिरहेका छन्।
प्रदेश सभामा उपस्थित संसदीय दलका नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने कानुन प्रदेशले पारित गर्यो। सोही सुविधा अन्तर्गत राप्रपाका २ जना सांसदमध्ये गुरूङ संसदीय दलका नेता र पहाडी प्रमुख सचेतक भएर गाडी सुविधा लिइराखे।
जब भदौ २३ गते जेनजी आन्दोलन भयो, यी दुबै सांसदले फेसबुकमार्फत राजीनामा दिने घोषणा गरे। संसद सचिवालयमा गाडी फिर्ता दिए। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भदौ २४ गते विज्ञप्ति जारी गरेर प्रतिनिधि सभा र प्रदेश सभाका सबै सांसदले राजीनामा दिने घोषणा पनि गरेका थिए।
फेसबुक र विज्ञप्तिमा राजीनामा दिने घोषणा गरे पनि उनीहरूले संसद सचिवालयमा अहिलेसम्म राजीनामा बुझाएका छैनन्।
गण्डकी प्रदेश सभा सचिवालयका अनुसार प्रदेशमा रहेका ६० जना सांसदमध्ये कोही पनि सांसदले अहिलेसम्म राजीनामा दिएका छैनन्। उनीहरू सबैको नाममा तलब र भत्ता पठाइराखिएको छ।
भदौमा राजीनामा दिएका राप्रपाका दुवै सांसद गुरूङ र पहाडीका नाममा पनि दसैं बोनस सहित तलब र भत्ता पठाएको सचिवालयले जनाएको छ।
राजीनामा घोषणा गरेर गाडी फिर्ता लगेका राप्रपा नेता गुरूङले संसद सचिवालयबाट फेरि गाडी लिएर गएका छन्। सभामुख कृष्ण धितालसँग काम पर्यो भन्दै सांसद गुरूङले ३ दिनअघि गाडी लिएर गएका हुन्।
सचिवालयका अनुसार राप्रपा सांसद गुरूङले फिर्ता गरेको उक्त गाडी सभामुख धितालले प्रयोग गरिरहेका थिए। धितालको गाडी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले जलाइदिएका थिए। त्यसपछि गुरूङले फिर्ता गरेको गाडी नै सभामुखले प्रयोग गर्नुपरेको थियो।
‘जेनजी आन्दोलनमा मैले प्रयोग गरेको गाडी जलाइदिएपछि माननीय पञ्चराम गुरूङले फिर्ता गर्नुभएको गाडी मैले प्रयोग गरेको थिएँ,’ सभामुख धितालले सेतोपाटीलाई भने, ‘अस्ति लमजुङ जानुपर्यो भनेर गाडी लैजानुभएको छ। हामीले पालैपालो प्रयोग गर्ने भनेर सल्लाह गरेका छौं।’
सांसद गुरूङले राजीनामाको घोषणा गरे पनि अहिलेसम्म लिखित नआएको पनि धितालले बताए।
संसद सचिवालयको गाडी जलेपछि तत्काल नयाँ खरिद गर्न बजेट नभएको भन्दै उनले मन्त्रालयहरूमा कुनै गाडी छ कि भनेर सल्लाह गरेको बताए।
सांसद गुरूङले गाडी लगे पनि सचिवालयमा कुनै लिखत नगरेको सचिवालयका सूचना अधिकारी शशीधर सुवेदीले बताए।
‘सभामुखज्यूले केही दिनका लागि गाडी दिनुभएको होला, सचिवालयमा उहाँले गाडी प्रयोग गर्नुभएको कुनै लिखत छैन,’ उनले भने।
यस विषयमा सांसद गुरूङको प्रतिक्रिया लिन पटक पटक फोन र म्यासेजमार्फत् सम्पर्कको प्रयास गरे पनि उनी सम्पर्कमा आउन चाहेनन्।
प्रदर्शनकारीले सभामुख, उपसभाुमख, एमाले संसदीय दलका नेता खगराज अधिकारी, माओवादीका प्रमुख सचेतक कुशुम बुढा र संसद सचिवालयले प्रयोग गर्ने २ वटा गरी ६ वटा चार पाङ्ग्रे सवारी साधन जलाएका थिए।
यस्तै, सचिवालयका कर्मचारी लगायतले प्रयोग गर्ने १२ वटा दुई पाङ्ग्रे, संसद भवन, कम्प्युटर, क्यामेरा लगायत कागजात पनि प्रदर्शनकारीले जलाइदिएका थिए।