राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहामा बसेको छ।
बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
उनले पार्टीमा चर्चित व्यक्ति भित्र्याउने वातावरण बनाउनुपर्ने भए पनि पुनर्गठनका नाममा मूल नेतृत्व नै आयात गर्ने कुरा स्वीकार्य नहुने उल्लेख गरेका छन्।
‘पार्टी 'रिफर्म' गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्ति/व्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदा हुँदै पनि 'रिफर्म' वा 'स्वागत' को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यही अनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन,’ प्रतिवेदनमा उल्लेख छ, ‘लोकतान्त्रिक पार्टी भएकाले राष्ट्र, राष्ट्रियता र जनताको हितमा पार्टीको विस्तार र सुदृढीकरणमा आउने हर प्रस्ताव स्वीकार र कार्यान्वयन गर्न हामी प्रतिवद्ध छौं।’
उनको प्रतिवेदनमा पूर्वाग्रह र व्यक्तिगत महत्वकांक्षाको लेपन नलगाई खुला र हार्दिक छलफल गर्न सक्यौं भने मात्र पार्टीलाई नयाँ रफ्तारमा अगाडि बढाउन सकिने उल्लेख छ।
‘मैले माथि उल्लेख गरेका समस्यालाई च्यापेर वा लुकाएर पार्टी अगाडि बढ्न सक्दैन। अनि, 'रिफर्म' का नाममा भइरहेका सबै तर्क र गतिविधिको अपनत्व लिएर पनि पार्टी अगाडि बढ्न सक्दैन। 'रिफर्म' नीति- विचार (राजनीतिक दृष्टिकोण) विधान (सांगठनिक संरचना) र मूल्य- मान्यता (कार्यशैली) मै हो कि केही पद र व्यक्तिहरुको व्यवस्थापनका लागि मात्र भन्ने प्रश्न पनि उठेको छ,’ उनले भनेका छन्।
साथै पार्टीमा पदहरू थपघट गरेर 'रिफर्म' गर्न खोजिएको हो भने त्यसअघि विधान संशोधन गर्नुपर्ने उनले बताए। ‘विधानको प्रावधान विपरीत कुनै पनि परिवर्तन सम्भव हुन्न । होइन, रिक्त रहेका पदमा जिम्मेवारी पाऊँ भन्ने हो भने छलफल गरौं,’ प्रतिवेदनमा उल्लेख छ, ‘पार्टीका पदाधिकारी नै परिवर्तन गर्ने कुरा हो भने, त्यसका लागि महाधिवेशन नै पर्खिनुपर्छ। पहिलो महाधिवेशन नै सम्पन्न नभइसकेको अवस्थामा कसरी र कुन ढाँचामा भन्ने प्रष्टता बिना 'रिफर्म को नाराले सार्थक परिणाम दिँदैन।’
विस्तारित बैठकले पनि पार्टीमा संरचनात्मक फेरबदल गर्न नसक्ने उनले बताए। ‘तर, विधानको धारा ८७ को असाधारण प्रयोगबाट केन्द्रीय समितिले आह्वान गरेको विस्तारित बैठकले केन्द्रीय समितिलाई नै सुझाव दिने उद्देश्य राखेको चाहिँ बुझ्नु पर्छ,’ प्रतिवेदनमा उल्लेख छ।
आग्रह पूर्वाग्रह, व्यक्तिगत महत्वकांक्षा वा क्षणिक आत्मसन्तुष्टिका लागि नभई पार्टी 'रिफर्म' बारे निरन्तर पार्टीका सबै संरचनामा गम्भीर र सार्थक बहस चलाउनुपर्ने निष्कर्षमा अर्याल पुगेका छन्।
‘म आग्रह गर्दछु, पार्टी 'रिफर्म' बारे कुनै प्रस्तावको मस्यौदा बनाइएको छ भने ल्याउनुस् महाधिवेशनसम्म पार्टीभित्र खुला छलफल गरौं। पार्टी 'रिफर्म' गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्ति/ व्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदा-हुँदै पनि 'रिफर्म' वा 'स्वागत' को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिं स्वीकार्य हुन सक्दैन,’ उनले भनेका छन्।