आन्तरिक राजश्व कार्यालय तुलसीपुरले सोमबारदेखि त्रिशिद्धेश्वरी मन्दिरको धर्मशालाबाट कार्यालय सञ्चालन गर्ने भएको छ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट कार्यालय भवन खण्डहरमा परिणत भएपछि कर कार्यालयले करसहित मासिक ७५ हजार भाडा तिर्ने गरी धर्मशालाबाट सेवा सुरु गर्न थालेको हो।
सार्वजनिक खरिद ऐन अन्तर्गतको प्रक्रिया पूरा गरी कर कार्यालयले मन्दिरको धर्मशाला मासिक ७५ हजार तिर्ने गरी भाडामा लिएको हो।
कार्यालय प्रमुख श्रीधर टन्डनका अनुसार सोमबारदेखि धर्मशालाबाट पूर्ण रूपमा कार्यालयको सेवा प्रवाह हुने छ।
तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडस्थित अरणिको मैदान नजिकबाट विगत २०४२ सालदेखि आन्तरिक राजश्व कार्यालयले आफ्नै कार्यालयबाट सेवा दिँदै आएको थियो।
कार्यालय प्रमुख टन्डनका अनुसार भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कार्यालयका तीन वटा भवनहरू आगजनीबाट खण्डहर बनेपछि असोज ६ गतेदेखि राजश्व कार्यालयले तुलसीपुर उद्योग वाणिज्य संघबाट सेवा प्रवाह गर्दै आएको थियो।
‘आगजनीपछि कार्यालय खण्डहर भए पनि हामीले अस्थायी रूपमा केही दिनमै उद्योग वाणिज्य संघबाट सेवा प्रवाह सुरू गरेका थियौं,’ टन्डनले भने, ‘त्यो अस्थायी व्यवस्थापन थियो र हामीले स्थायी रूपमा सेवा दिनका लागि खोजी गर्ने क्रममा मन्दिरको धर्मशाला कार्यालय सञ्चालनका लागि उपयुक्त भेटेपछि यही भाडामा बसेर भोलिदेखि सेवा सुरू गर्न थालेका हौं।’
भवन डिभिजन कार्यालय घोराहीबाट आएको प्राविधिक टोलीले आगजनीबाट ध्वस्त संरचना बस्नका लागि योग्य नरहेको भन्ने रिपोर्टका आधारमा कर कार्यालय भाडामा बस्न थालेको हो। यद्यपि केन्द्रबाट पनि सोको अध्ययनका लागि प्राविधिक टोली आउने भनिएको छ।
केन्द्रको टोली आएपछि थप अध्ययन हुने र उसकै सुझाव अनुसार मर्मत गरी मात्रै बस्न सकिने वा नयाँ संरचना निर्माण गर्नु पर्ने अवस्था भए पनि टेन्डर प्रक्रियामा जाँदा लामो समय लाग्न सक्ने भएको हुँदा भाडामा बस्नु पर्ने अवस्था सिर्जना भएको प्रमुख टन्डनले बताए। भदौ २४ को आगजनीबाट राजश्व कार्यालयका तीन वटा भवन, दुई वटा गाडी, कर्मचारीको निजी सवारी साधन गरी चार करोड बढीको क्षति भएको जिल्ला प्रशासनले संकलन गरेको क्षतिको विवरणमा उल्लेख छ।
आन्तरिक राजश्व कार्यालय भाडामा बस्न थालेको धर्मशालामा कुल २३ वटा कोठाहरू छन्। ती मध्ये हाल राजश्व कार्यालयले जमिन तलाका १३ र त्यसभन्दा माथिल्लो तलाका २ वटा कोठा गरी १५ वटा कोठाहरू भाडामा लिएको छ।
भविष्यमा माथिल्लो तलामा रहेका कुल ४ कोठाहरू समेत विस्तार कार्यालय विकास गर्दै प्रयोग गर्ने रणनीति कार्यालयको छ। कार्यालय प्रमुख टन्डनका अनुसार माथिल्लो तलामा कार्यालय प्रमुख, लेखा शाखा, स्टोरका रूपमा प्रयोग गरिने छन् भने जमिन तलाका कोठाहरू बढी जस्तो जनताको सेवा संग सम्बन्धित सेवाहरू रहने छन्। काउन्टर भने धर्मशालाको प्राङ्गणमै निर्माण गरिने भएको छ।
कार्यालयको स्थायी संरचनाहरू निर्माण हुन लामो समय लाग्ने सम्भावना रहेको भन्दै कार्यालय प्रमुख टन्डनले आफ्नै संरचना निर्माण नहुँदासम्म अबदेखि मन्दिरको धर्मशालाबाटै सेवा प्रवाह हुने बताए।
‘आफ्नै कार्यालयमा व्यवस्थित रूपमा कार्यालय सञ्चालन गरे जस्तो सजिलो त नहोला,’ टन्डनले भने, ‘तर अप्ठेरो अवस्थामा अहिले हामीले भाडामा भए पनि जे जस्तो संरचना प्राप्त गरेका छौं, यसलाई केही मर्मत गरेर सेवा प्रवाहलाई जति सक्यो सहज र सरल बनाउने उद्देश्य रहने छ।’
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले भदौ २४ गतेको आगजनीबाट साविक राप्ती अञ्चल राजश्व कार्यालय खण्डहर भएपछि तत्कालका लागि सरकारको राजश्व संकलन तथा आम सर्वसाधारणको सेवा नरोकियो भनेर वाणिज्य संघकै कार्यालय प्रयोग गर्न दिएको बताए।
‘हामीले आगजनीबाट राजश्व कार्यालय ध्वस्त भए लगत्तै आफ्नै कार्यालय उपलब्ध गराएको हुँदा सेवा सुरू भएको थियो,’ अध्यक्ष केसीले भने, ‘त्यस्तो बेला कतिपयले किन नि:शुल्क राजश्व कार्यालयलाई आफ्नो कार्यालय प्रयोग गर्न दिएको भनेर केहीले नकारात्मक टिप्पणी गर्दै अप्रत्यक्ष रूपमा धम्की दिन खोजेको भए पनि हामीले आम जनताको सेवालाई ख्याल गरेका थियौं।’
संघको सहयोगले असोज ६ गतेदेखि राजश्व कार्यालयको सेवा प्रवाह सहज भएको वाणिज्य संघका अध्यक्ष केसीले बताए।