नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रान्ति हुने भयानक खतरा रहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले त्यस्ता प्रतिक्रान्तिको खतरा रहेकाले सबै वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच वृहद् एकता आवश्यक रहेको बताएका हुन्।
'अब प्रतिक्रान्तिको भयानक खतरा देखिँदै छ। त्यसलाई परास्त गर्न जनताको तागत र एकता अपरिहार्य छ। क्रान्ति कहिल्यै सहज हुँदैन—प्रतिक्रान्तिको सामना गर्दै अघि बढ्नु नै यसको नियम हो,' उनले भने।
संयोजक प्रचण्डले अहिले मुलुकमा साम्राज्यवाद र समाजवादी क्रान्तिबीच टक्करको अवस्था रहेको पनि बताए।
उनले यसलाई समाजवादी क्रान्तिको प्रारम्भिक चरण समेत भनेका छन्।
'क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ,' उनले भने।
प्रचण्डले 'जनयुद्ध' र जनआन्दोलनको क्रममा माओवादीले राखेका विचार र सन्दर्भ पनि स्मरण गरे।
'हामीले त्यतिबेलै भनेका थियौं—नेपाल गणतन्त्रमा जानेछ, तर त्यो जनताको गणतन्त्र हुनेछ वा प्रतिक्रियावादीहरूको भन्ने निर्णय पछि हुने टक्करबाट मात्र हुनेछ,' उनले भने।
अहिले देश त्यही ऐतिहासिक मोडमा पुनः पुगेको प्रचण्डले बताए।
'हामी फेरि त्यस्तै टकरावको स्थितिमा छौं—क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन्,' उनले भने।
प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीको रूपमा चित्रण समेत गरे।
'हामी अहिले साम्राज्यवादसँग सीधै आमनेसामने छौं। अब प्रश्न छ—समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने हो कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने हो,' उनले भने।
उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी सबै शक्तिलाई राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिको रक्षाका लागि एउटै मोर्चामा उभिन आह्वान समेत गरे।
'संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हामीले सामन्ती निरंकुश तन्त्रविरुद्ध विभिन्न शक्तिसँग सम्झौता गरेका थियौं। ती शक्तिहरू सबै क्रान्तिकारी थिएनन्। कतिपय दलाल र पुँजीवादी शक्तिहरूसँग पनि अस्थायी सम्झौता भएको थियो। त्यो गल्ती होइन, त्यस समयको वर्ग संघर्षको आवश्यक परिणाम थियो,' उनले भने।
त्यही सम्झौताबाट आएका गणतन्त्रपछिका नेतृत्वहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जनआक्रोश बढेको उनले बताए।
'भ्रष्टाचारविरुद्ध सडकमा निस्केका युवाहरूले राजनीतिबाट टाढा भनिएका पुस्तालाई पुनः राजनीतिक रूपमा सचेत बनाएका छन्। उनीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारविरोधी अभियान र अभिव्यक्ति स्वतन्त्रताको मुद्दा उठाएका छन्। यी युवाहरू नै क्रान्तिकारीका उत्तराधिकारी हुन्,' उनले भने।