नेकपा (एकीकृत समाजवादी)पार्टी विभाजन हुने निश्चित भएको छ।
नेकपा (माओवादी केन्द्र) लगायत समाजवादी घटकहरूसँग एकता गर्ने निर्णय केन्द्रीय समिति बैठकबाट भएपछि एकीकृत समाजवादी औपचारिक रूपमा विभाजन हुने भएको हो।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितको एउटा पंक्ति पार्टी पुनर्गठन र सांगठानिक सुदृढीकरण नगरी अरू दलसँग एकता गर्न नहुने पक्षमा थिए।
यद्यपि केन्द्रीय समितिबाट बहुमतबाट माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन हुने भएको हो।
सम्मानीत नेता झलनाथ खनाल समूहले शनिबार छुट्टै भेला बोलाएको छ। भेला दिउँसो काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा बस्ने तय भएको छ।
भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, विजय पौडेल सहित सय बढी केन्द्रीय उपस्थित हुने दाबी झलनाथ पक्षले गरेका छन्।
यी नेताहरू अगाडिदेखि नै माओवादीसँग एकता गर्न नहुने पक्षमा थिए।
पतञ्जलीको जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि एकीकृत समाजवादीमा नेतृत्व परिवर्तनको कुरा उठेको थियो।
भ्रष्टाचार मुद्दा दर्ता भइसकेको अवस्थामा नैतिकताको आधारमा पनि माधव नेपालले अध्यक्ष छाड्नुपर्ने माग झलनाथ पक्षको थियो।
जेनजी आन्दोलनपछि अन्य दलले नेतृत्व पुनर्गठनको प्रक्रिया अगाडि बढाएपछि पनि माधवलाई अध्यक्ष छाड्न दबाब बढेको थियो।
उनले आफूलाई बचाउनका लागि पार्टी पुनर्गठनमा भन्दा माओवादीसँग एकता गर्ने प्रक्रिया अगाडि बढाएको झलनाथ पक्षको आरोप छ।