नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले फागुन २१ काे निर्वाचनपछि पार्टीकाे १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्।
बिहीबारकाे केन्द्रीय समिति बैठकमा बोल्दै उनले निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका हुन्।
‘नेपाली कांग्रेस निर्वाचनमा जानुपर्छ। केन्द्रीय समितिबाट निर्वाचनमा जाने कुरा निर्णय गरेर जानुपर्छ। कांग्रेसकाे नियमित र विशेष महाधिवेशन भन्दै अल्झिनु हुँदैन,’ बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका बानियाँले भने।
मुलुकलाई राजनीतिक निकास दिएर मात्र कांग्रेस महाधिवेशनमा जानुपर्ने उनको भनाइ थियो।
‘उपयुक्त समयमा महाधिवेशनकाे लागि मध्यमार्गी बाटाे खाेजेर जानुपर्ने हुन्छ। आगामी मंसिर र पुसमा महाधिवेशन गर्न सम्भव छैन। फागुन २१ काे निर्वाचनका लागि पुस २० गतेभित्र उम्मेदवारकाे बन्दसूची बुझाइसक्नुपर्छ। त्यसका लागि जिल्ला-जिल्लाबाट नाम चाहिन्छ। त्याे अवस्थामा हामी अधिवेशनकाे कुरामा अल्झिनु हुँदैन,’ उनले भने।