नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिले माओवादी केन्द्रसँग एकताको बेला नभएको बताएका छन्।
बिहीबार केन्द्रीय समितिमा बोल्दै सम्मानित नेता खनालले अध्यक्ष माधव नेपाललाई जानुहुन्छ भने जानुस्, म हात मिलाउनेछु समेत भनेका थिए।
‘यो समय माओवादीसँग एकता गर्ने बेला हैन। जानुहुन्छ भने जानुहोस्। म हात मिलाउने छु, सलाम भन्ने छु। मेरो मित्रता कायम नै रहने छ तर मेरो बुझाइ यो माओवादी जानेबेला हैन,’ उनले भने।
केन्द्रीय कमिटी बैठकमा बोल्दै सम्मानित नेता खनालले एकताका लागि बोरा–बिस्तारा तयार पारिसकेकालाई नजानुस् भन्न नसक्ने बताए।
‘जजसले बोरा–बिस्तरा तयार गरिसक्नु भएको छ उहाँहरूलाई नजानुहोस कसरी भन्नु! जानुहोस्। तर ख्याल गर्नुहोला प्रचण्डपथ किन आयो? किन हरायो?,’ उनले भने।
अहिले यताबाट जनवाद र उता प्रचण्डपथ छोडेर सिद्धान्तको सौदाबाजी हुन लागेको आफूले सुनेको पनि बताएका थिए।
‘कम्युनिस्टले सिद्धान्तको सौदाबाजी गर्दैन। यथार्थमा उभिएर तर्क र तथ्यको आधारमा स्वीकार गर्नुपर्छ,’ उनले भने।
आफू भारतमा भएका बेला पार्टी विभाजन भएको पनि खनालले स्मरण गरेका थिए। त्यतिबेला आफूलाई माधव नेपालले गलत सूचना दिएको पनि बताएका थिए।
‘म भारतको अस्पतालमा थिएँ। डेथ बेडमा थिएँ। माधव कमरेडसँग कुरा भयो। उहाँले ओलीले यो भन्दा पनि मान्दैनन्, ऊ भन्दा पनि मान्दैनन् भन्नु भयो। मैले त्यसो भए हुन्छ भने। तर उहाँले दिएका सूचनाहरू गलत रहेछन्। पार्टीको साथीलाई भन्दा बढी विश्वास कसलाई गर्नु,’ उनले भने।
भारतबाट आएपछि पार्टी कार्यालयमा कार्यक्रम भएको र अब समाजवादी कार्यक्रम हो भनेर राजनीतिक कार्यदिशा देखाएको पनि स्मरण गरेका थिए।
‘उहाँले जनताको बहुदलीय जनवाद छोड्न सकिँदैन भन्नु भयो। त्यसपछि पार्टीमा विवाद रहेछ भन्ने भयो,’ उनले भने, ‘उहाँ जति कराउनुहुन्छ त्यसको तीन भाग बढी म कराउन सक्छु। कराएर नेता होइँदैन, शान्त भएर तर्क राख्ने र छलफल गर्नुपर्छ,’ उनले भने।
उनले आफू माधव नेपालभन्दा सिनियर नेता भएको बताएका थिए। ‘तर उहाँले सोध्नुभयो– मैले हुन्छ तपाईं अध्यक्ष हुनुहोस भनेँ,’ उनले भने।
अध्यक्ष नेपाल आफ्नो मार्गदर्शक नभएको बताए। ‘मार्गदर्शक हुन त त्यसै अनुसारको क्षमता र विशेषता हुनुपर्छ,’ उनले भने।
सम्मानित नेता खनालले अबको समाजवाद लोकतान्त्रिक मूल्यमान्यता सहितको हुनेछ भनिएको प्रति पनि टिप्पणी गरेका थिए।
‘त्यसो भए अहिलेसम्म भएका समाजवाद लोकतान्त्रिक मूल्यमान्यता सहितका होइनन् त? यो मेरो उहाँहरूलाई प्रश्न हो,’ उनले भने, ‘पुँजीवादी समाजवादको कुरा राख्न खोजेको हो भने त्यो कांग्रेसको पिछलग्गु हुन्छ। के त्यही बनाउन खोजेको हो?’