नेपाली कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने र नियमित कि विशेष भन्ने विषयमा बहस भइरहेको छ।
नयाँ महाधिवेशनमार्फत पार्टीलाई रुपान्त्रण गर्नुपर्ने माग नेपाली कांग्रेसभित्र तीव्र रूपमा अघि बढेको छ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर हस्ताक्षर बुझाइसकेका छन्।
यहीबेला देशभरका ६ जना महानगर सभापतिहरूले एक महिनाभित्रै महाधिवेशन गर्न सम्भव रहेको बताउँदै कार्यतालिका नै प्रस्ताव गरेका छन्।
महानगर सभापतिहरू किन यस्तो अवस्थामा पुगे, उनीहरू किन तत्कालै महाधिवेशन चाहन्छन् भन्नेबारे सेतोपाटीले उनीहरूसँग कुराकानी गरेको छ।
यसैक्रममा हामीले कास्कीको पोखरा महानगर कार्यसमितिका सभापति सुरेन्द्रमान विजुक्छेसँग कुराकानी गरेका छौं:
अन्तर महानगर कार्यसमिति बैठक नै बसेर कांग्रेसको नियमित महाधिवेशन माग गर्नुपर्ने अवस्था किन आयो?
ललितपुर महानगर समिति सभापति शुभानन धाख्वाको अध्यक्षतामा हामी नेपालका ६ वटै महानगर सभापतिहरूको बैठक बसेर नियमित महाधिवेशनको माग गरेका हौं। पार्टीको विधानअनुसार पनि अहिले महाधिवेशन गर्ने समय हो। जेनजी आन्दोलनपछि पार्टीको नेतृत्व वर्ग देखेर कार्यकर्तामा निराशाको भावना बढेको छ। पार्टीलाई गतिशील बनाउन र कार्यकर्तालाई निराशाबाट उत्साह जगाउन पनि महाधिवेशन हुनुपर्छ भनेर हामीले माग राखेका हौं। सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको छ। निर्वाचनबाट पार्टीलाई बलियो रूपमा अघि सार्न पनि महाधिवेशन अनिवार्य छ। त्यही भएर हामीले दवाब दिएका हौं।
विशेष महाधिवेशनका लागि पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। नियमित नभए विशेष महाधिवेशन गर्दा के हुन्छ?
हामीले नियमित महाधिवेशन नै गर्न सकिन्छ भनेर दवाब दिएका हौं। नियमित महाधिवेशन नहुने भए विशेष महाधिवेशन भए पनि हुनुपर्छ। यसका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर बुझाइसक्नुभएको छ। नियमित महाधिवेशन हुन सक्यो भने तल्लो तहदेखि केन्द्रसम्म नयाँ नेतृत्व आउँछ। गुट उपगुटको अवस्था अन्त्य हुन्छ। तलैबाट पार्टी बलियो बनाउने हो भने त नियमित महाधिवेसन हुनुपर्यो नि! नेतृत्वको शैली देखेर साथीहरू वाक्क परेको अवस्थामा छन्। नियमित महाधिवेशनबाट सबै तहका समिति निर्वाचित भएर आउँछन् र पार्टीमा उत्साह पनि बढेर आउँछ।
मंसिरमा महाधिवेशन गर्न संस्थापन पक्षले समय नपुग्ने भनिरहेको छ, तपाईंहरूले एक महिनाभित्रै महाधिवेशन गर्न सकिने कार्यतालिका नै प्रस्ताव गर्नुभयो, यो सम्भव छ?
कतिपय नेताहर"ले नियमित वा विशेष दुवै खाले महाधिवेसन निर्वाचन अघि सम्भव छैन भनेको मैले पनि सुनेको छु। हामीले सम्भव छ भने कार्यतालिका पनि प्रस्ताव गरेका छौं। जसअनुसार २ हप्तामा क्रियाशील सदस्यता टुंग्याउन सकिन्छ। वडा अधिवेशन, जिल्ला अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन गर्न सकिन्छ भनेर हामीले कार्यतालिका नै केन्द्रीय कार्यालयमा पेस गरेका छौं। यसरी काम गर्यो भने सम्भव छ भनेर हामीले भनेका छौं। काम गर्ने हो भने त असम्भव छैन। काम नै नगर्ने अनि भ्याउँदिन भनेर हुन्छ? कामै नगरेपछि कसरी सम्भव हुन्छ। जे पनि सम्भव हुन्छ एक महिनामा। संस्थापन पक्ष भन्छ, अर्को पक्ष भन्छ, यसरी पार्टी बलियो हुँदैन। उहाँहरूले चुनावअघि महाधिवेशन सकिँदैन भनेकै भएर हामीले यो यो काम गर्यो भने सकिन्छ भनेर कार्यतालिका दिएका हौं। पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठकले महाधिवेसनको कार्यतालिका ल्याउनुपर्यो।
महाधिवेशन कार्यतालिका ल्याउने केन्द्रीय समितिले हो, महानगर सभापतिहरूले किन प्रस्ताव ल्याउनुभएको?
हामी अन्तर महानगर समितिले पार्टीको महाधिवेशन बोलाउने होइन। कार्यतालिका पनि हामीले ल्याउने होइन। हामीले केन्द्रीय समितिले अब विधानअनुसार तत्काल महाधिवेशनको कार्यतालिका ल्याओस् भनेर दवाब दिएका हौं। महाधिवेशन गर्न सकिँदैन भन्ने नेताहरूलाई यसरी काम गर्यो भने सकिन्छ भनेर कार्यतालिका दिएका हौं। केन्द्रीय समितिलाई दवाब दिनकै लागि हामीले महाधिवेशनको तालिकासहित प्रस्ताव ल्याएका हौं। पार्टीका कार्यकर्ता र जनतामा देखिएका निराशा हटाउन पनि नेपाली कांग्रेसले महाधिवेसनमार्फत पार्टी रूपान्तरण र नेतृत्व परिवर्तन गर्न जरूरी छ। यसो गर्न सकियो भने फागुन २१ गतेको चुनावबाट पार्टी थप बलियो भएर आउन सक्छ।
चुनावअघि नियमित वा विशेष महाधिवेशन केही पनि भएन र केन्द्रीय समितिले कार्यकाल थप गर्यो भने तपाईंहरूको भूमिका के रहन्छ?
हामीले सबैजसो नेतालाई महाधिवेशन हुनुपर्छ भनेर आएका छौं। केन्द्रीय समितिको आजको बैठकले कार्यतालिका ल्याउँछ कि ल्याउँदैन भनेर हेर्छौं। कार्यतालिका नल्याए फेरि हामी बैठक बस्छौं। समयमै महाधिवेशन गराउन हामीले हाम्रो ठाउँबाट दवाब दिन्छौं। अहिलेको नेतृत्व वर्ग देखेर नैराश्यमा रहेका साथीहरूलाई आशावादी बनाउन पनि महाधिवेशनको विकल्प छैन। जेनजी पुस्ता अहिलेको राजनीतिको मुलधारमा छन्। उनीहरूलाई पनि विश्वासमा लिनुपर्छ। पार्टीमा रूपान्तरण आवश्यक छ। यसका लागि पनि महाधिवेशन हुनुपर्ने भएकाले हामी केन्द्रीय समिति बैठक पश्चात फेरि अन्तर महानगर समितिको बैठक बस्छौं र अब कसरी जाने भनेर बाटो तय गछौं।
यो पनि: 'महाधिवेशन नभए कांग्रेसमा नसोचेको विद्रोह हुनेछ'