नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले वर्तमान समस्यालाई सम्बोधन हुने गरी माओवादी केन्द्रसँग एकता नभए झन् ठूलो दुर्घटना निम्त्याउने बताएका छन्।
बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भूसालले अहिलेकै तरिकाले एकता गर्दा माओवादी केन्द्र पनि सग्लो नरहन सक्ने बताएका हुन्। माओवादी केन्द्रसँग गर्ने भनिएको एकता प्रक्रियामा आफ्नो सहभागिता नरहेको बताएका हुन्।
‘एकताको प्रक्रियामा मेरो सहभागिता छैन। एकताबारे मैले सुरूदेखि नै भनिरहेको छु–प्राविधिक कुरा हैन राजनीतिक कुरामा केन्द्रित हुनुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै एक सदस्यले भने।
अहिलेको समाजलाई सम्बोधन गर्ने गरी पार्टीको नीति र संगठन बनाउनुपर्ने उनले धारणा राखे।
‘माओवादीसँगको एकताको कुरा गरिरहेका छौं। ठिक ढंगले र वर्तमान समस्यालाई सम्बोधन हुने गरी एकता भएन भने झन् ठूलो दुर्घटना ल्याउने छ। स्वयम् माओवादी पनि सिंगल रहने छैन,’ उनले भने।
उनले विगतमा स्वतन्त्र, लोकतन्त्र, पहिचानका कुरा उठाउँदा जनताले साथ दिएको बताउँदै, अहिलेको माग र आवश्यकताको सम्बोधन गर्न नसक्दा नागरिकहरू टाढिएको बताए।
‘हिजो हामीले भन्दा जनता हामीसँग लागेका थिए। किनभने उनीहरूलाई स्वतन्त्रता, लोकतन्त्र, पहिचान लगायत कुराहरूको सम्बोधन जरूरी थिएन, त्यो हामीले सम्बोधन पनि गरिरहेका थियौं। अहिले त्यो प्राप्त भयो। त्यसपछिको उनीहरूको अपेक्षा र मागलाई हामीले सम्बोधन गर्न सकिरहेका छैनौं,’ उनले भने।
अध्यक्षको राजनीतिक प्रतिवेदनमा राष्ट्रपतिले बोलाएको, सुशीला कार्की नेतृत्व सरकार बनाउन हाम्रो भूमिका छ भनिएकोप्रति पनि उनले टिप्पणी गरे।
‘यो प्राविधिक कुरा हो। मूल कुरा यस्तो अवस्था किन आयो? त्यसको जिम्मेवार को हो? हामीले त्यसलाई सम्बोधन गर्न किन सकेनौं भन्ने कुरा मुख्य हो,’ उनले भने।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्वबाट बिदा लिनुपर्ने बताए।
‘प्रचण्ड र माधव कमरेडसँगै हुँदा पनि मैले भनेको छु– मूल नेतृत्वले बिदा लिनुहोस्। पार्टी पुनर्गठन गरौं। अहिलेको समस्यामा मूल नेतृत्व नै मुख्य जिम्मेवार हो,’ उनले भने।
उनले विगतका बखान अब सान्दर्भिक नरहेको पनि बताए।
‘हिजो यो गरेका थियौं, त्यो गरेका थियौं भनेर होइन, अहिले के गरेका छौं त्यो मुख्य कुरा हो,’ उनले भने।