प्रधानमन्त्रीको स्वकीय सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री नहटाइने प्रष्टीकरण दिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन दबाब दिएका खबर आएकोप्रति सचिवालयले आज विज्ञप्ति निकालेर प्रष्ट पार्न खोजेको हो।
‘केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरूप्रति प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ,’ प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।’
जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको र असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न लागिपरेको पनि उनले उल्लेख गरेका छन्।
‘ शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ।
यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
