लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत लाइन काटेकोप्रति चिन्ता व्यक्त गरेका छन्।
बुधबार प्रेस विज्ञप्तिमार्फत नेकपा एमालेका नेता समेत रहेका मुख्यमन्त्री आचार्यले यो विषयमा संघीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएको छ।
विद्युत लाइन काटिए पनि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेको, सयौं श्रमिकहरू रोजगारीविहीन बनेको तथा स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै मुख्यमन्त्री आचार्यले चिन्ता व्यक्त गरेका छन्।
संघ सरकारले अभिभावकीय भूमिका निर्वाह गरी नेपाल विद्युत प्राधिकरण र उद्योग सञ्चालकका बीच संवाद र समझदारीका माध्यमबाट दीर्घकालीन समाधान खोज्न जरूरी रहेको उनले उल्लेख गरेका छन्।
उद्योग व्यवसायमा विश्वास पुनःस्थापना गर्न, श्रमिकको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्न जरूरी रहेको आचार्यले बताएका छन्।
लुम्बिनी प्रदेश सरकार उद्योग व्यवसायको प्रवर्द्धन, श्रमिक हित संरक्षण र प्रदेशको समग्र आर्थिक विकासका लागि निरन्तर प्रतिबद्ध रहेको हुँदा संघ सरकारले पनि सोही अनुरूपको भूमिका निर्वाह गर्नुपर्ने उनले औंल्याएका छन्।