अर्जेन्टिनामा आइतबार सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति जेभियर मिलेइको पार्टी ला लिबेर्ताद अवान्साले विजयी हासिल गरेको छ।
प्रतिनिधि सभाका १२७ मध्ये आधा सिट र सिनेटका २४ सिटका लागि आइतबार भएको निर्वाचनमा राष्ट्रपति मिलेइको पार्टीले ठूलो जित हासिल गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उक्त पार्टीले ब्युनस आयर्स राज्यमा मात्रै ४१.५ प्रतिशत मत प्राप्त गरेको छ। त्यहाँ लामो समयदेखि प्रभाव जमाउँदै आएको पेरोनिष्ट गठबन्धनले ४०.८ प्रतिशत मत पाएको छ।
यो नतिजा अर्जेन्टिनाको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।
राष्ट्रिय रूपमा मिलेइको पार्टीले प्रतिनिधि सभामा ६४ सिट जितेको छ। यसअघि उनको प्रतिनिधि सभामा उनको दलको ३७ सिट मात्र थियो।
सिनेटको २४ सिटका लागि भएको चुनावमा मिलेइको पार्टीले ८ सिट जितेको छ। यसअघि सिनेटमा उनको दलका ६ जना थिए। नयाँ नतिजापश्चात सिनेटरको संख्या १४ पुगेको छ। जसले उनलाई माथिल्लो सदनमा पनि अधिक प्रभाव जमाउने अवसर प्रदान गर्नेछ छ।
यो नतिजाले राष्ट्रपति मिलेइलाई संसदमा आफ्नो पकड मजबुत बनाउन र सुधार कार्यक्रम तीव्र गतिमा अघि बढाउन सहयोग गर्ने विश्लेषकहरूको मत छ।
साथै अन्य मध्यमार्गी दलहरूसँग गठबन्धन गरी संसदमा बहुमत नजिक पुग्ने सम्भावना बढाएको छ।
मतदाताले उनको स्वतन्त्र बजारमुखी नीति र कठोर मितव्ययिता कार्यक्रमलाई समर्थन जनाउँदै उनले अघि सारेका आर्थिक सुधारहरूलाई निरन्तरता दिन जनमत दिएको भनेर रोयटर्सले लेखेको छ।
हालसम्म पेरोनिष्टहरू सबैभन्दा ठूलो विपक्षी शक्तिका रूपमा रहेका छन् भने मिलेइको नयाँ पार्टीसँग यसअघि ३७ सांसद र ६ जना सिनेटर मात्र थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिलेइलाई समर्थन जनाउँदै ४० अर्ब डलरको आर्थिक उद्धार प्याकेज प्रदान गरेका थिए। मिलेइको पार्टीले सन्तोषजनक नतिजा नल्याए उक्त सहयोग पुनर्विचार गर्न सकिने भनेर यसअघि ट्रम्प प्रशासनले चेतावनी दिएको थियो।
मिलेइको सरकारलाई मुद्रास्फीति नियन्त्रण, राजस्व अधिशेष र नियमन घटाउने नीतिका कारण लगानीकर्ताहरू र ह्वाइट हाउसले प्रशंसा गर्दै आएका छन्।
राष्ट्रपति मिलेइको पदभार ग्रहणअघि १२.८ प्रतिशत रहेको मासिक मुद्रास्फीति हाल २.१ प्रतिशतमा झरेको रोयटर्सले जनाएको छ।
पछिल्ला महिनाहरूमा मिलेइले ट्रम्पले जस्तै सार्वजनिक खर्च कटौतीको नीति लिएका थिए। त्यसले उनको चर्को आलोचना पनि भएको थियो। सँगैआफ्नी बहिनीसँग जोडिएको भ्रष्टाचार प्रकरणका कारण पनि राष्ट्रपति मिलेइको लोकप्रियता घटेको थियो। यद्यपि यो निर्वाचन नतिजाले उनलाई पुनः राजनीतिक शक्ति प्रदान गरेको बताइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, ३५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु मिलेइको सरकारका लागि सकारात्मक संकेत हो। यसले उनलाई अन्य दलहरूसँग सहकार्य गरेर विपक्षीहरूले ल्याउने कानुनी अवरोधहरू रोकेर आफ्नो सुधार कार्यक्रम निरन्तरता दिन सक्ने अवस्था बनाएको छ।
मिलेइले चुनावपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजना बनाएको बताएका छन्।