नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रस्तावमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ।
बिहीबार बिहान ९ बजेदेखि बैठक चलिरहेको छ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्वको छनौट अब महाधिवेशन प्रतिनिधिका हातमा रहेको बताएकी छन्।
ढकालले अहिले नेतृत्व परिवर्तनको बहस बेमौसमको बाजा भएको बताइन्।
१० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको म्याद अझै १ वर्ष बाँकी रहेको, विशेष अवश्थामा ६ महिना समय थप्न सकिने विधानको प्रावधान पनि रहेकोले अहिले जथाभावी ढंगले नेतृत्वको मानमर्दन गर्ने,राजिनामा गराउने भन्ने कुरा उचित नभएको ढकालको भनाइ छ।
‘पार्टीको ११ औं महाधिवेशन घोषणा हिजो घोषणा भइसकेको छ। त्यसपछि पनि नेताहरू अध्यक्षले राजिनामा दिनुपर्दछ भन्दै हुनुहुन्छ,’ ढकालले भनिन्, ‘अब कसलाई अध्यक्ष बनाउने, कसलाई महासचिव बनाउने भन्ने कुरा महाधिवेशन प्रतिनिधिका हातमा पुगिसक्यो। महाधिवेशन अघि नेतृत्व परिवतर्न भन्ने कुरा बेमौसमको बाजा हो।’
ढकालले अध्यक्ष ओलीले पार्टी बैठकमा राखेको विशेष प्रस्तावले वर्तमान समसामयिक राजनीति, जेन जी आन्दोलन र यसका असर तथा भावी कार्यदिशाका बारेमा स्पष्ट पारेकोले यसको पूर्ण समर्थन गरेर जानुको विकल्प नभएको बताइन्।