नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले अहिलेको सरकारले चुनावको तयारीभन्दा पनि आतंक खडा गरेर सत्तामा रहिरहन चाहेको बताएका छन्।
उनले अहिले देश अलोकतान्त्रिक र असंवैधानिक मार्गबाट अघि बढिरहेको पनि बताए।
यसलाई लोकतान्त्रिक मार्गमा ल्याउनु मुख्य विषय रहेको र यो चुनाव तथा संसद पुनर्स्थापनामध्ये एक बाटोबाट आउने उनको भनाइ थियो।
‘तर सरकार निर्वाचन नगराउने षडयन्त्रमा देखिने गरी क्रियाशील छ। अहिले मुलरूपमा निर्वाचन गराउने जिम्मेवारीमा रहेको सरकार निर्वाचनको वातावरण बनाउनेतर्फ भन्दा पनि डर, भय र त्रासको आतङ्क खडा गरेर सत्तामा रहिरहन चाहन्छ,’ उनले भने।
सरकार राजनितिक दलहरूसँग संवाद र छलफलको सट्टा निषेध र दलका नेताहरूलाई धम्क्याउनेतर्फ अघि बढेको पनि उनले बताए।
‘यसले देशमा चुनाव हुने अवस्था नबनाउन सरकार आफै लागेको देखिन्छ। त्यसैले निर्वाचन पनि नहुने र देशमा जनप्रतिनिधिमूलक सर्वोच्च संस्था पनि नहुने हो भने मुलुक अर्को भयानक सन्कट तर्फ उन्मुख हुने निश्चित छ। त्यसैले संसद् पुनर्स्थापना को विषय नै आजको मुख्य मुद्दा हो,’ उनले भने।
संसद् पुनर्स्थापना भएमा सर्वदलीय र सर्वपक्षिय राष्ट्रिय सरकार निर्माण गरेर जानुपर्ने उनले बताए।
उनले जेन जी पुस्ताको भावना, आकाङ्क्षा र चाहना पूरा गर्न र मुलुकका विद्यमान चुनौती समाधान गरी राजनितिक स्थिरता तर्फ अगाडि बढ्ने आधार निर्माण गर्नुपर्ने पनि बताए।
यसका लागि यो संविधान र व्यवस्था स्वीकार गर्ने देश भित्रका राजनीतिक शक्ति एक ठाउँमा उभिने वातावरण बनाउनु पर्ने उनले बताए।