नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सभापति शेरबहादुर देउवाको विकल्प खोज्ने बेला नभएको बताएका छन्।
सानेपामा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बोल्दै उनले पार्टी एकताबद्ध बनाएर लैजानुपर्ने बेला सभापतिको विकल्प खोज्न नहुने धारणा राखेका हुन्।
‘अस्ती भर्खरसम्म सभापतिमा शेरबहादुर देउवा ठिक अहिले बेठिक कसरी हुन्छ?,’ सिटौलाले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘अहिले नै सभापतिको विकल्प खोज्ने बेला भएको हो त? देउवाको विकल्प खोज्नुपर्ने अवस्था म चाहिँ देख्दिनँ।’
सिटौलाले १३ औं र १४ औं महाधिवेशनमा सभापति पदमा देउवालाई सहयोग गरेका थिए।
जेनजी पुस्ताको भदौ २४ को प्रदर्शनमा सभापति देउवामाथि निवास बूढानीलकण्ठमै आक्रमण भएको थियो। देउवा स्वास्थ्य लाभ गरिरहेका छन्। उनी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा अनुपस्थित रहेका थिए।