राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न सर्वदलीय बैठक राखेका छन्।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरू सहभागी छन्।
यस्तै दलहरूबाट पनि नेताहरू सहभागी छन्।
राष्ट्रपति पौडेलले फागुन २१ गतेको निर्वाचन लगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेका हुन्।
बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन्।
एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी छन् भने माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य सहभागी छन्।
राप्रपाबाट ज्ञानेन्द्र शाही र मीना लामा, एकीकृत समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाल सहभागी भएका छन्।
यस्तै जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी तथा जसपाबाट रेणु यादव, जनमतबाट अध्यक्ष सिके राउत र जयबहादुर राउत, लोसपाबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ल, नाउपाबाट रेशम चौधरी, नेमकिपाबाट सुनिलकुमार प्रजापति सहभागी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेको छ। निर्वाचन आयोगले कार्यतालिकासमेत जारी गरेको अवस्थामा दलहरूसँग संवाद भएको थिएन।
प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रपति पौडेललाई भेटेर सर्वदलीय बैठक राख्न आग्रह गरेकी थिइन्।