नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टी पुनर्गठनको माग गरिरहेकाहरूलाई प्रतिक्रियावादीको एजेन्टको संज्ञा दिएका छन्।
बिहीबार एमाले भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै शत्रुले घेरिरहेका बेला, सत्रुले आक्रमण गरिरहेका बेला एमाले जनसंगठन संयन्त्रका प्रमुख रहेका ढकालले शत्रुहरूले हल्लाइरहेका बेला मौका छोपेर ओलीलाई उखेल्न खोजिन्छ कि भनेर पार्टीभित्रै प्रयास भइरहेको बताएका छन्।
‘शत्रुहरूले हल्लाइरहेका बेला केपी ओलीलाई उखेल्न सकिन्छ कि भनेर कतिपय घरभित्रै बसेको तर घर बाहिरका प्रतिक्रियावादीहरूका एजेन्ट छन् भने मलाई लाग्छ, तिनीहरूका रूपहरू पनि क्रमशः उदांगिँदै जानेछन्,’ उनले भने।
उनले भदौ २२ गते सकिएको दोस्रो विधान महाधिवेशनपछि विकसित अवस्थालाई समेटेर महाधिवेशनको माध्यमबाट पुनर्गठनमा पनि जान सकिने बताउँदै पार्टी पंक्तिलाई एकताबद्ध बनाउनु आजको कार्यभार रहेको बताए।
‘हामीले विधान महाधिवेशन गरेर सर्वसम्मत जे नीति पास गरेका छौं, त्यसपछि विकसित अवस्थालाई समेटेर महाधिवेशनको माध्यमबाट नेतृत्व पुनर्गठनमा पनि जान सक्छौं, यो नेकपा एमालेका विभिन्न आरोहअवरोह, गठन, पुनर्गठनको प्रक्रिया भनेको हाम्रो दैनिकी जीवनजस्तै नै हो। पार्टीको नीति, विधिअनुरू कम्रेड्ली भावनाका साथ एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता छ,’ उनले भने।