अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने आफ्नो योजना अन्तर्गत बन्धकहरूलाई रिहा गर्न हमास तयार रहेको बताएका छन्। योसँगै उनले इसराइललाई गजामा बमबारी तुरून्त रोक्न भनेका छन्।
हमासले ट्रम्पको योजनामा शुक्रबार औपचारिक जबाफ दिँदै बन्धक रिहा गर्न सहमत भएको जानकारी गराएको अल जजिराले जनाएको छ।
त्यसपछि हमास दीर्घकालीन शान्तिका लागि तयार रहेको विश्वास व्यक्त गर्दै ट्रम्पले शुक्रबार तुरून्तै गजामा बमबारी रोक्न इसराइलसँग माग गरेका हुन्।
द न्यूयोर्क टाइम्सका अनुसार इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले त्यसपछि शनिबार बिहानै एक विज्ञप्ति जारी गरेर ट्रम्पको योजनाको पहिलो चरण अनुरूप बन्धकहरूको रिहाइको तयारी गरिरहेको बताएको छ।
त्यस्तै इसराइलको राजनीतिक नेतृत्वले गजामा बमबारी रोक्न सैन्य नेतृत्वलाई निर्देशन दिएको समाचार संस्था रोएटर्सले लेखेको छ।
गजामा झन्डै दुई वर्षदेखि चलेको युद्ध अन्त्य गर्न ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सोमबार मनाएका थिए।
ह्वाइट हाउसमा सोमबार नेतन्याहूसँग कुरा गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले प्यालेस्टिनी भूभागका लागि शान्ति सम्झौताको घोषणा गरेका थिए।
सो योजना अस्वीकार गरे इसराइलले आवश्यक जस्तो सुकै कदम चाले पनि अमेरिकाको पूर्ण समर्थन रहने चेतावनी पनि उनले हमासलाई दिएका थिए।
ट्रम्पले जारी गरेको सो २० बुँदे दस्तावेजमा तत्काल युद्धविराम, हमासले राखेका सबै बन्धकहरूको सट्टामा इसराइलले राखेका प्यालेस्टिनी कैदीहरूको आदानप्रदान, गजाबाट इसराइली सेनाको चरणबद्ध फिर्ती, हमासको निरस्त्रीकरण र एउटा अन्तर्राष्ट्रिय निकायको नेतृत्वमा संक्रमणकालीन सरकार गठनको आह्वान गरिएको छ।
आफ्नो निरस्त्रीकरण लगायत केही विषयमा हमास अझै सहमत नभए पनि ट्रम्पको धम्कीका कारण पहिलो चरण अन्तर्गत बन्धक रिहा गर्न राजी भएको हो। निरस्त्रीकरण लगायत अरू विषयबारे अझै कुरा गर्नुपर्ने हमासको माग रहेको भनेर विभिन्न सञ्चार माध्यमले जनाएका छन्।
हमासले २०२३ अक्टोबर ७ मा इसराइलमा आक्रमण गरी लगेका बन्धकमध्ये नेपाली विपिन जोशी सहित ४८ जना अझै छाडेको छैन।
त्यसमध्ये बीस जना अझै जीवित रहेको इसराइलको अपेक्षा छ। तर कसको अवस्था के छ भन्ने यकिन छैन।
अहिले हमास जीवित बन्धक र मृत्यु भएका बन्धकको शव सबै फिर्ता गर्न राजी भएको हो।
योजना अनुसार ट्रम्पले गजाको पुनर्निर्माणका लागि गठन हुने बोर्डको नेतृत्व गर्नेछन्। बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले सो बोर्डमा रहेर पुनर्निर्माणको काम हेर्नेछन्।
सो योजनामा साउदी अरेबिया, युएई, कतार, इजिप्ट लगायत मुस्लिम देशको समर्थन छ। साउदी अरेबिया, युएई, कतार लगायत धनी देशले पुनर्निर्माणको खर्च बेहोर्न राजी भएका समाचार पहिल्यै आएका थिए।
हमासले २०२३ अक्टोबर ७ मा इसराइलमाथि आक्रमण गरेपछि इसराइलले गजा ध्वस्त पारेको छ।
गजामा २२ महिनाभन्दा बढीको युद्ध क्रममा दसौं हजार प्यालेस्टिनीको नरसंहार गरेको आरोप छ।
अहिले इसराइलभित्रै पनि निर्दोष प्यालेस्टिनी बालबालिकाको हत्या गरेर इसराइली प्रधानमन्त्री नेतन्याहूले विश्वभर छवि बिगारेको भन्दै विरोध हुन थालेको छ।
इसराइललाई युद्ध रोक्न दबाब हाल्न भर्खरै फ्रान्स, बेलायत, क्यानडा र अस्ट्रेलिया लगायत पश्चिमा देशले प्यालेस्टाइनलाई औपचारिक रूपमा देशको मान्यता दिएका थिए।
ट्रम्पको योजनाले छुट्टै प्यालेस्टाइन राज्यको प्रत्याभूति भने गरेको छैन। तर पनि इसराइलले गाजामा मच्चाइरहेको विध्वंश रोक्न नेतन्याहू सहमत भएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)