गजामा झन्डै दुई वर्षदेखि चलेको युद्ध अन्त्य गर्नका लागि अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई मनाएका छन्। ट्रम्पको सो योजनालाई हमासले स्वीकार गर्छ कि गर्दैन भन्ने अझै टुंगो छैन।
ह्वाइट हाउसमा सोमबार नेतन्याहूसँग कुरा गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले प्यालेस्टिनी भूभागका लागि शान्ति सम्झौताको ‘ज्यादै भन्दा पनि अझ नजिक’ पुगेको घोषणा गरेका छन्।
हमासलाई सो योजनालाई अस्वीकार गरे इसराइलले आवश्यक जस्तोसुकै कदम चाले पनि अमेरिकाको पूर्ण समर्थन रहने चेतावनी पनि उनले दिएका छन्।
ट्रम्पले जारी गरेको सो २०-बुँदे दस्तावेजमा तत्काल युद्धविराम, हमासले राखेका सबै बन्धकहरूको सट्टामा इसराइलले राखेका प्यालेस्टिनी कैदीहरूको आदानप्रदान, गजाबाट इसराइली सेनाको चरणबद्ध फिर्ती, हमासको निरस्त्रीकरण र एउटा अन्तर्राष्ट्रिय निकायको नेतृत्वमा संक्रमणकालीन सरकार गठनको आह्वान गरिएको छ।
सोमबारको बैठकमा ट्रम्पले नेतन्याहूको अविश्वासलाई हटाउन खोजेका थिए। भविष्यमा प्यालेस्टिनी राज्यको सम्भावना र युद्धपछिको गाजामा प्यालेस्टिनी प्राधिकरणको कुनै भूमिका नेतन्याहूले कडा रूपमा अस्वीकार गर्दै आएका छन्। प्यालेस्टिनी प्राधिकरणले हाल वेस्ट व्यांकमा शासन गरिरहेको छ। यी कुरामा ट्रम्पले नेतन्याहूलाई मनाए कि मनानन् भन्नै अझै खुलेको छैन भनेर समाचार संस्था रोएटर्सले लेखेको छ।
ट्रम्पसँगै अभिएर नेतन्याहूले भने, 'म गाजामा युद्ध अन्त्य गर्ने तपाईंको योजनालाई समर्थन गर्छु। यसले हाम्रा युद्ध उद्देश्यहरू हासिल गर्छ।'
'यसले हाम्रा सबै बन्धकहरूलाई इसराइल फर्काउनेछ, हमासको सैन्य क्षमतालाई नष्ट गर्नेछ, यसको राजनीतिक शासन अन्त्य गर्नेछ, र गजाले फेरि कहिल्यै पनि इसराइलाई खतरा नपार्ने कुरा सुनिश्चित गर्नेछ,' उनले थपे।
हमासले २०२३ अक्टोबर ७ मा इसराइलमा आक्रमण गरी लगेका बन्धक मध्ये नेपाली विपन जोशी सहित ४८ जना अझै फिर्ता गरेको छैन। त्यसमध्ये २० जना अझै जीवित रहेको इसराइलको अपेक्षा छ।
ट्रम्पको योजना आधाकरिक रूपमा अझै पनि हमासलाई दिइएको छैन। तर वार्ताको मध्यस्थता गरिरहेका कतार र इजिप्टले उक्त दस्तावेज हमासलाई देखाएका छन्। हमासले असल नियतले त्यसको समीक्षा गर्ने र त्यसपछि जवाफ दिने भनेर मध्यस्थकर्ताहरूलाई बताएको कुरा एक हमास अधिकारीले रोएटर्सलाई भनेका छन्।
योजना अनुसार ट्रम्पले गाजाको पुनर्निर्माणका लागि गठन हुने बोर्डको नेतृत्व गर्नेछन्। बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले सो बोर्डमा रहेर पुनर्निर्माणको काम हेर्नेछन्।
सो योजनामा साउदी अरेबिया, युएई, कतार, इजिप्ट लगायत मुस्लिम देशको समर्थन छ। साउदी अरेबिया, युएई, कतारलगायत धनी देशले पुनर्निर्माणको खर्च बेहोर्न राजी भएको भनेर समाचार पहिल्यै आएका थिए।
हमासले २०२३ अक्टोबर ७ मा इसराइलमाथि आक्रमण गरेपछि इसराइलले गजालाई ध्वस्त पारेको छ।
गजामा २२ महिनाभन्दा बढीको युद्धका क्रममा दसौं हजार बालबालिका र महिलाको हत्या गरेको, प्यालेस्टिनीको नरसंहार गरेको आरोप छ।
अहिले इसराइलभित्रै पनि निर्दोष प्यालेस्टिनी बालबालिकाको हत्या गरेर इसराइली प्रधानमन्त्री नेतन्याहूले विश्वभर छवि बिगारेको भन्दै विरोध हुन थालेको छ।
इसराइललाई युद्ध रोक्नका लागि दबाब हाल्न भर्खरै फ्रान्स, बेलायत, क्यानडा र अष्ट्रेलिया लगायत पश्चिमा देशले प्यालेस्टाइनलाई औपचारिक रूपमा देशको मान्यता दिएका थिए।
ट्रम्पको योजनाले छुट्टै प्यालेस्टाइन राज्यको प्रत्याभूति भने गरेको छैन। तर पनि इसराइलले गाजामा मच्चाइरहेको विध्वंश रोक्न नेतन्याहू सहमत भएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)