नागरिक उन्मुक्ति र जनमत पार्टीबाट बाहिरिएकाहरू छुट्टाछुट्टै दल खोल्ने गृहकार्यमा जुटेका छन्।
नाउपाबाट संरक्षक रेशम चौधरीसहित ठूलो पंक्ति बाहिरिएको थियो। सिके राउत नेतृत्वको जनमत पार्टीबाट पनि वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित केन्द्रीय प्रवक्ता शरद सिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सिके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम निस्किएका थिए।
नाउपा संरक्षक रहेका चौधरीले र जनमत त्यागेकाहरूले आउँदो फागनु २१ गते प्रतिनिधिसभा निर्वाचनमा भाग लिने गरी दल दर्ताको तयारी थालेका हुन्।
जनमत पार्टी त्यागेका शरद सिंह यादवका अनुसार उनीहरूले अहिले 'युथ फर नेसन' अभियान सञ्चालन गर्ने तयारी थालेका छन्।
जेन–जी आन्दोलनको रापताप नसेलाउँदै युवा पुस्तालाई अभियानमा आकर्षित गर्ने र त्यसको दायरा बढाउँदै पार्टीका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले सुनाए।
'हामीले पार्टी विभाजन गरेको भए धेरै साथीहरू जोड्न सहज हुन्थ्यो,' जनमत पार्टीका पूर्वप्रवक्ता यादवले सेतोपाटीसँग भने, 'पार्टी छाडेकाहरूले नयाँ अभियान सुरू गरेकाले अभियानलाई बृहत् रूप दिन समय लाग्ने देखिएको छ। तर धेरै साथीहरू अभियानप्रति आकर्षित हुनुहुन्छ। असन्तुष्ट साथीहरूलाई जोड्दै अभियानलाई पार्टीको रूप दिनेछौं।'
पछिल्लो समय उनीहरू पार्टी अध्यक्ष सिके राउतसँग असन्तुष्ट रहँदै आएका थिए। राउतले पार्टी स्वेच्छाचारी ढंगले चलाएको, पार्टी सामूहिक विवेकमा नचलेको, निर्णयको सामूहिक अपनत्व पनि कमजोर रहेको निष्कर्ष उनीहरूले निकालेका थिए।
जेन–जी आन्दोलनपछि युवा पुस्ताको चेतनालाई जनमतले ग्रहण गर्न नसक्ने र उनीहरूको भावनाको प्रतिनिधित्व नहुने भन्दै उनीहरूले नयाँ अभियान संगठित गर्न खोजेका हुन्।
'हामी आउँदो फागुन २१ को चुनावमा भाग लिने गरी अभियानलाई व्यवस्थित गर्दैछौं। युवा पुस्ता पनि जोड्दैछौं,' उनले भने।
नाउपा संरक्षक रेशम चौधरी पनि नयाँ अभियान निर्माणको कसरतमा छन्। उनले २०७८ पुसमा जेलभित्र नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए।
उनी २०७२ भदौ ७ गतेको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका थिए। गम्भीर प्रकृतिको फौजदारी कसुर प्रमाणित भई कारावास रहेका बेला पार्टी खोलेकाले उनी अध्यक्ष बन्न पाएका थिएनन्। त्यसैले उनले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएका थिए।
२०८० जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद माफी पाएपछि उनले त्यही पुसमा पहिलो अधिवेशन गरेर अध्यक्ष निर्वाचित गरेका थिए। तर निर्वाचन आयोगले उनी नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गरिदिएन।
गत साउन १४ गते राष्ट्रिय भेला गरेर पत्नी श्रेष्ठलाई अध्यक्षबाट हटाएर बाबु लालवीरलाई पार्टी नेतृत्वमा ल्याए पनि निर्वाचन आयोगले उक्त कमिटी पनि अद्यावधिक नगरेपछि उनले नयाँ पार्टी गठनको गृहकार्य थालेका हुन्।
'हामीले नयाँ गोरेटो कोरिसकेका छौं। अभियान देशैभर विस्तारित हुँदैछ,' उनले सेतोपाटीसँग भने, 'विभिन्न दलमा आबद्ध रहनुभएको, स्वतन्त्र रहनुभएका बौद्धिक वृत्त पनि अभियानप्रति सकारात्मक हुनुहुन्छ।'
उनले टीकापुर विद्रोहको भावना र मर्म आत्मसात् गर्दै नयाँ आन्दोलनको रूपरेखा तयार पार्ने बताए।
अब बन्ने पार्टीले भर्खरै सडकमा प्रकट भएको जेन–जीको भावना, उनीहरूको उत्सर्गलाई पनि वहन गर्ने बताए।
'टीकापुर विद्रोह राज्यले सदियौंदेखि गरिरहेको थिचोमिचो, विभेदविरूद्धको अभिव्यक्ति थियो। जेन–जी आन्दोलन पनि राज्य प्रणालीमा रहेको भ्रष्टाचार, अनियमितता, सुशासनहीनताप्रतिको विद्रोह थियो, त्यसको भावनालाई आत्मसात गर्दै राजनीतिक दिशा दिनुपर्छ,' उनले भने।
उनले भदौ २३ र २४ गतेको आन्दोलनको रापताप नसेलाइसकेको बताउँदै खरानीमुनि भर्भराउँदो आगो रहेको बताए।
'ठूला दलले अझै पनि मुन्टो उठाइरहेका छन्, साना दलहरूमाथिको थिचोमिचो, फाटो ल्याउने र शासन गर्ने प्रवृत्ति अझै उस्तै छ। नव युवाहरूले त्यसविरूद्ध पनि विद्रोह गरेका हुन्,' उनले भने।
नव युवाको भावनाको प्रतिनिधित्व गर्दै उनीहरूकै नेतृत्वमा नयाँ पार्टी खोल्न लागेको उनले बताए। उनले पार्टीको नामकरणसमेत गरिसकेका छन्। उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल राख्ने निर्क्यौल गरेका छन्।
'यहाँहरूलाई भनौं, नयाँ पुस्ताकै नेतृत्व रहने गरी नयाँ पार्टी खोल्दैछौं। नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्ष जेन–जी (सन् १९९७देखि सन् २०१३ भित्र जन्मिएका युवा) नै हुनेछ,' उनले भने।