नेकपा (माअोवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यवाहक अध्यक्ष मागेको खुलेको छ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले दुई दिनअघि बसेको पदाधिकारी बैठकमा आफूलाई कार्यवाहक अध्यक्ष दिन भनेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए।
‘उहाँले आफूलाई कार्यवाहक अध्यक्ष दिन भन्नुभएको थियो तर परिस्थिति त्यस्तो थिएन,’ उनले भने।
उपमहासचिव गजुरेलका अनुसार जेन–जी विद्रोहको परिस्थितिको विश्लेषण गर्दै श्रेष्ठले बैठकमा त्यस्तो प्रस्ताव गरे पनि अध्यक्ष प्रचण्डले पार्टी विशेष महाधिवेशनमा गइसकेको बताएका थिए।
‘हामी विशेष महाधिवेशन गर्दैछौं। दुई महिनाका लागि किन कार्यवाहक दिने? विशेष महाधिवेशन गरौं। नेतृत्वबारे विशेष महाधिवेशनले नै फैसला गर्नेछ भनेर अध्यक्षले भन्नुभयो,’ गजुरेलले सेतोपाटीसँग भने।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गते बस्दैछ।
अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भंग गर्दै महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेका छन्। आगामी केन्द्रीय समिति बैठकले पदाधिकारी बैठकको प्रस्ताव अनुमोदन गर्दै महाधिवेशनको मिति घोषणा गर्नेछ।
माओवादी केन्द्रले आगामी मंसिर महिनामा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि गरेको छ। उमहासचिव जनार्दन शर्माले विगत लामो समयदेखि विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए।