नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले गत भदौ २३ र २४ गते जेन–जीले गरेको आन्दोलने भ्रष्ट राजनीति र संस्कृतिमा प्रहार गरेकाले यसलाई सकारात्मक संश्लेषण गर्नुपर्ने बताएका छन्।
आइतबार पदाधिकारी बैठकमा उनले जेन–जी आन्दोलनले दलतन्त्र, नेतातन्त्र, दलालीतन्त्र र कमिसनतन्त्रलाई राम्रोसँग उजागर गरिदिएको बताएका हुन्।
‘जेन–जी आन्दोलनले राजनीतिक पार्टीहरू र सरकारले जनसरोकारका विषयहरू, जनजीविकाका प्रश्नहरूको बेवास्ता गरेको, परिवारवादमा फसेको र राजनीतिलाई सेवाभन्दा व्यवसायको रूपमा लिएको एवम् वैभवशाली जीवनशैली अवलम्बन गरेको आदि विषयहरू सशक्त रूपमा उठाएको छ,’ उनले पदाधिकारी बैठकमा गरेको प्रस्तावमा उल्लेख छ।
यी समस्याहरू सरकार, राजनीतिक पार्टीहरूका काम कारबाहीहरूले गर्दा उत्पन्न भएको उनको ठहर छ।
राजनीति पार्टीहरूले स्वार्थकेन्द्रित कामहरू गर्दा यी समस्या उत्पन्न भएको भन्दै यस्तो परिस्थिति उत्पन्न गर्ने अन्य कुनै शक्ति नरहेको उनको विश्लेषण छ।
‘राजनीतिक पार्टीका काम र व्यवहारहरू हुन्। यसमा अन्य पार्टीहरूप्रति त जनताको विश्वास नै थिएन। हाम्रो पार्टी जसले हिजो जनयुद्धमा यस्तै मुद्दाहरु उठाएर विद्रोह गरेका थियौं, यसबाट समेत जनताले नेकपा माओवादी र अरू पार्टीमा फरक देखेनन्। तसर्थ हामी यस कुरामा बढी जिम्मेवार रहेको कुरा स्वीकार गर्नुपर्दछ। यी कमजोरीहरूप्रति हामी आत्मालोचित हुनुपर्दछ। जनता सामू पश्चाताप गर्नुपर्दछ,’ उनले भनेका छन्।
उनले जेन– जी आन्दोलनले समस्याको उजागर मात्रै नगरेको र समाधानको बाटो पनि खोलेको उल्लेख गरेका छन्।
‘अब हामीले सुशासन, समृद्धि र जनअपेक्षालाई आत्मसात् गर्नका लागि हाम्रा सोच, हाम्रो व्यवहार, नीति, संरचना र नेतृत्व प्रणालीसहित हाम्रो काम कारबाहीले सबैलाई बदल्न सक्नुपर्दछ। पार्टीमा आमूल परिवर्तन गर्न नयाँ पुस्ताको बाहूल्यता र नेतृत्वबारे सोच्नुपर्छ। आफैलाई सच्याउने, सुधार्ने, रूपान्तरण गर्ने, पुनर्गठन गर्ने एउटा अवसरको रुपमा लिनुपर्दछ,’ उनको भनाइ छ।