नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले बुढानिलकण्ठस्थित देउवा निवासमा पैसाको सुरूङ भेटिएको भनी सामाजिक सञ्जालमा गरिएको प्रचार झूटो भएको प्रस्टीकरण दिएको छ।
देउवाका स्वकीय सचिव भानु देउवाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रस्टीकरण दिएका हुन्।
देउवा निवासमा 'अत्यधिक पैसा भेटिएको', 'जलेका नोटका अंशहरू निवास परिसरमा जताततै फेला परेको' र 'पैसाको सुरूङ नै रहेको' जस्ता कपोलकल्पित समाचार सम्प्रेषण भइरहेको उल्लेख गर्दै देउवा सचिवालयले भनेको छ, 'सामाजिक सञ्जालमा देखाइएका दृश्य कपोलकल्पित, अतिरञ्जित र दूषित मनसायले पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार हुन्।'
त्यस्तै, घरभित्र रहेको भूमिगत पानी ट्यांकीलाई पनि सामाजिक सञ्जालमा विभिन्न अनुमान गरेर प्रचार प्रसार गरिएको विज्ञप्तिमा छ।
प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँ र विभिन्न समयमा जलेका नोटका दृश्य जोडेर सम्पादित फोटो र भिडिओहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको सचिवालयले भनेको छ।