राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। बिहीबार बसेको पार्टी सचिवालयको बैठकले आगामी असोज ७ गते केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
उक्त बैठकले पार्टीको आगामी कार्यदिशा सम्बन्धी बृहत छलफलका लागि केन्द्रीय विस्तारित बैठक बोलाउने सम्बन्धी प्रस्ताव गर्ने उनले बताएका छन्।
उक्त विस्तारित बैठकमा पार्टीको महाधिवेशनबारे छलफल हुनेछ। रास्वपाले आगामी फागुन ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन तयारी गरेको थियो। तर प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते गर्ने गरी मिति तोकिएकाले त्यसबारे छलफल गर्नुपर्ने भएको प्रवक्ता झाले बताए।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन २०८२ फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा, वर्तमान सरकारले २०८२ फागुन २१ गते आम निर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी, महाधिवेशनसम्बन्धी आवश्यक छलफल र निर्णय आगामी विस्तारित बैठकमा गर्ने प्रस्ताव गरिएको छ,’ उनले भने।