राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ २४ गते प्रदर्शनका क्रममा ध्वस्त भएका सरकारी भवनहरूको पुनर्निर्माण गर्न श्रमदान अभियान चलाउने भएको छ।
केन्द्रीय र्याट समन्वय विभाग प्रमुख बैकुण्ठ थापाले विज्ञप्ति जारी गर्दै सडक तथा सार्वजनिक यातायात सहज बनाउन प्रहरी प्रशासनसँग सहकार्य गरी ट्राफिक स्वयंसेवक सेवा सञ्चालन पनि गर्ने बताएका छन्।
‘आन्दोलनका क्रममा तोडफोड, आक्रमणका कारण धेरै सार्वजनिक भवनहरू ध्वस्त भएका छन् र सडक यातायातमा ठूलो अवरोध सिर्जना भएको छ। यस्ता घटनाले समाजमा तनाव बढाउनुका साथै दैनिक जनजीवन कठिन बनाएको छ। यस गम्भीर अवस्थालाई सम्बोधन गर्न, हाम्रो केन्द्रीय र्याट समन्वय विभागले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै, सबै समितिका पदका सदस्यहरूलाई विभिन्न स्वयमसेवी कार्यमा सक्रिय सहभागिताको लागि आह्वान गर्दछौं,’ थापाले विज्ञप्तिमार्फत भनेका छन्।
रास्वपाले स्वयमसेवी कामका ६ वटा क्षेत्र तोकेको छ।
१) सरकारी निकाय तथा स्थानीय प्रशासनसँग सहकार्य गरी आन्दोलनमा ध्वस्त भएका सरकारी भवनहरूको पुनर्निर्माण कार्यमा श्रमदान गर्नु ।
२) सडक तथा सार्वजनिक यातायात सहज बनाउन प्रहरी प्रशासनसँग सहकार्य गरी “ट्राफिक स्वयंसेवक सेवा” संचालन वा सहयोगमा सहभागी हुनु।
३) सामाजिक सुरक्षामा योगदान गर्न शान्ति–सुरक्षा कार्यक्रम सञ्चालन गर्नु।
४) यस घटनाबाट प्रकोपित, असहाय परिवार, बिरामी तथा विपन्न वर्गलाई आफूले सक्ने जति दैनिक आवश्यकता सामग्री वितरण गर्नु।
५) जनसहभागितासहित सामाजिक सद्भाव र शान्ति कायम गर्न सक्दो सहयोग पुर्याउनु।
६) आफ्नो समय, श्रम र सीप योगदान गरेर समाजलाई पुनः सामान्य अवस्थामा फर्काउन अग्रसर हुनु।