नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले युवाहरूले धैर्य गरेको भए उनीहरूका आकांक्षा नेकपा (एमाले) ले नै पूरा गर्ने बताएका छन्।
गत भदौ २४ गते जेन–जी प्रदर्शनका च्यासलस्थित पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीबाट भएको क्षति अवलोकनका लागि गएका महासचिव पोखरेलले युवाहरूमा हुर्कंदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई संवोधन गर्न पार्टीले रोडम्याप समेत बनाइसकेको बताएका हुन्।
‘यहाँहरूलाई थाहा छ हामीले भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गरेर युवाहरूमा हुर्कंदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा लामो छलफल गरिकन निर्णायक शक्ति निर्माणको २१ बुँदे कार्ययोजना हामीले तयार पारेका थियौं। युवाहरूले धैर्यता गर्नु भएको भए, नेकपा एमालेले नै उहाँहरूका उहाँहरूका चाहना, आकांक्षा पूरा गर्ने पार्टीका रूपमा एमाले अगाडि आउँदै थियो। हामीले त्यस प्रकारका योजनाहरू, संकल्पहरू तयार गरेका थियौं,’ उनले भने।
तर विडम्बना एमालेले ती योजनाहरू व्यवहारमा लागु गर्न नपाउँदै मुलुकमा दुःखद् घटना घटेको उनले बताए।
महासचिव पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नुपर्ने बताए।
‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव गराउने हो। शान्ति सुरक्षाको वातावरण तयार गरिकन समयमा निर्वाचन गराउने कुरामा यो सरकार ध्यान जानेछ। नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताको अभिमत प्राप्त गर्ने कुरामा प्रवेश गर्नुपर्छ,’ उनले भने।
सधैंभरि सडक जनमत प्राप्त गर्ने माध्यम हुन नसक्ने उनले बताए।
‘सडक जनमत प्राप्त गर्ने माध्यम हुनु पनि हुँदैन। एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाएनौं भने मुलुक कहिले पनि समृद्धि र विकासको यात्रामा अघि बढ्न सक्दैन। समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास सम्भव हुँदैन,’ उनले भने।
कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने बताएको छ।
महासचिव पोखरेलले भदौ २४ गतेको प्रदर्शन उग्र बन्दै नेकपा (एमाले) को पार्टी कार्यालयसहित नेता–कार्यकर्ताहरूको भौतिक सम्पत्तिमा क्षति पुर्याइएको बताए। उनले विध्वंशात्मक प्रदर्शनले खरानी बनाएको संरचनामाथि नै उभिएर एमालेले संविधान दिवस मनाउने पनि जानकारी दिए।
‘यसपटक हामी हाम्रो क्षतिग्रस्त संरचनाको खरानीमा उभिएर संविधान सभाले संविधान बनाउँदाको परिकल्पना साकार पार्ने संकल्प गर्न चाहन्छौं। ७७ जिल्लाका साथीहरूलाई निर्देशन जारी गरिसकेका छौं। काठमाडौं उपत्यकाका साथीहरूले पार्टी कार्यालयमा संविधान दिवसको आयोजना गर्नेछौं,’ उनले भने।