भदौ २४ गते जेनजी आन्दोलनका क्रममा महान्यायाधिवक्ता कार्यालयका अधिकांस हार्डडिस्क र मनिटर चोरी भएको छ।
सिपियू छाडेर चोरी तथा लुटपाट गर्ने समूहले कार्यालयमा रहेका अधिकांस हार्डडिस्क र मनिटर लगेको प्रवक्ता तथा सहन्यायाधिवक्ता उद्दवप्रसाद पुडासैनीले जानकारी दिए।
कम्प्युटरमा गरिने सबै प्रकारका कामकाजका तथ्यांक तथा विवरण सिपियूको हार्डडिस्कमा रहन्छ। हार्डडिस्क बिनाको सिपियूको कुनै काम हुन्न।
‘कार्यालयको भुइँ तला जलाइएको छ। माथिल्ला कोठामा रहेका हार्डडिस्क सिपियू भित्रैबाट निकालेको छ र मनिटर पनि चोरी भएको छ। कार्यालयमा रहेका ९० प्रतिशत हार्डडिस्क र मनिटर चोरी भएको छ। सिपियू छाडेका छन्,’ उनले भने, ‘एक दुई वटा कोठा मात्रै छाडिएको छ।’
ती हार्डडिस्कमा अधिकांस मुद्दाहरूका सफ्टकपी छन्। त्यसबाहेक अन्य मुद्दाका मिसिलहरू सुरक्षित नै छन्।
केही मिसिल र प्रिन्टर पनि चोरी भएका छन्। यद्यपी ती कुन मुद्दाका हुन् भन्ने यकिन गर्ने काम भइरहेको छ।
भदौ २४ गते आन्दोलनमा भुइँ तलाबाट आगजनी गरिएको थियो। आगलागी माथिल्लो तलासम्म पुग्न नपाउँदा अधिकांस मिसिलहरू सुरक्षित नै छन्।
उनका अनुसार यस्तै प्रकृतिको घटना नजिकै रहेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र विशेष सरकारी वकिलको कार्यालयमा पनि देखिएको छ।
उनले यो घटनामा महान्यायाधिवक्ता कार्यालयलाई निशाना बनाउनु नियोजित समेत भएको बताए।
‘यो घटना नियोजित देखिन्छ। भित्र प्रवेश गर्नेले सुरूमै सिसिटिभी क्यामेरा फुटाएका छन्। आइटी रहेको कोठामा पनि तोडफोड भएको छ। सिसिटिभीको स्टोरेज छ/छैन हेर्दैछन्,’ उनले भने।
भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा सिंहदरबार, सर्वोच्चसहित जिल्ला अदालत, विशेष अदालत, प्रहरी कार्यालय, व्यापारिक भवनहरूमा आगजनी गरेका छन्।
यस घटनामा ७२ जनाले ज्यान समेत गुमाएका छन्। जसमध्ये तीन जना प्रहरी, १० जना कैदीबन्दी र ५९ जना प्रदर्शनकारीको मृत्यु भएको हो।