नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङले प्रहरी कर्मचारीहरूलाई थप उच्च मनोबल र साहस जुटाएर खट्न आग्रह गरेका छन्।
बिहीबार साँझ एक भिडिओ सन्देश जारी गर्दै उनले प्रहरी कर्मचारीहरूलाई उच्च मनोबल र साहस जुटाउन आग्रह गरेका हुन्।
'युगीन जिम्मेवारीको घडीमा नियमित प्रहरी कार्यमा हिजोभन्दा पनि आज, थप उच्च मनोबल र साहसका साथ जुट्नु हुन म सकलदर्जाका साथीहरूलाई विशेष आग्रह गर्छु,' उनले भने, 'नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षक सदैव यहाँहरूको सुखदुःखमा साथ रहेर विश्वास समेत दिलाउन चाहन्छु।'
उनले व्यावसायिक धर्ममा कमी आउन नदिन पनि अनुरोध गरेका छन्।
'क्षति, दु:ख र पीडा हामी सबैले जीवनमा बेहोर्नुपर्ने घटनाक्रम हो। यो दुःखद घटनाबाट पुनः जिम्मेवारीका साथ परिचालित रहँदै गर्दा हाम्रो व्यावसायिक धर्ममा कुनै कमी नआओस्,' उनले भने।
उनले प्रहरीको भौतिक संरचनामा पुगेको क्षति, जलेका पोसाक र खरानी भएका कमाइका कारण आफू दुखी भएको पनि बताएका छन्।
तर यसरी दुःखद क्षणमा पनि आफूहरूलाई सम्हालेर संरचना बनाउनमा जुटेकाले आफूले गौरवबोध गरेको पनि उनले बताएका छन्।
उनले प्रदर्शनको क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारी तथा युवाहरूलाई श्रद्धाञ्जली व्यक्त गरी दुःख व्यक्त गरेका छन्। त्यस्तै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।