नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले समस्याको समाधान समाधान संवैधानिक दायराबाटै खोजिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार धारणा सार्वजनिक गर्दै भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र समृद्धिको चाहना एवं आवाज विहीनहरूको आवाजको सम्बोधन पनि संविधान र लोकतन्त्रबाटै सम्भव रहेको बताएका हुन्।
‘जेन–जी पुस्ताको भावना र आकांक्षालाई केन्द्रमा राखेर सार्वभौम सत्ता, संविधान र लोकतन्त्रको रक्षा गर्दै समस्याको समाधान संवैधानिक दायराबाटै खोजिनु पर्छ। जेन–जी अन्दोलनमा सहभागी साथीहरूको भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र समृद्धिको चाहना एवं आवाजविहीनहरूको आवाजको सम्बोधन पनि संविधान र लोकतन्त्रबाटै सम्भव छ भन्ने कुरालाई आत्मसात गर्न जरूरी छ,’ उनले भनेका छन्।
एमालेले विगतका कमिकमजोरीहरूको गम्भिर समीक्षा गर्ने पनि उनले बताएका छन्।
‘तर यति बेलाको संकटको समाधानका लागि लोकतन्त्र र संवैधानिक सर्वोच्चतामा विश्वास राख्ने जेन–जी पुस्ताका मित्रहरू, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण दाजुभाई दिदिबहिनी एकताबद्ध भई सजगताका साथ भूमिका निर्वाह गरौं। संकटबाट मुलुकलाई जोगाऔं,’ उनले भनेका छन्।