जेन–जीनले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित काठमाडौंमा रहेका अधिकांश ठूला सरकारी कार्यालयमा आगो लगाएका छन्। सिंहदरबारमा मंगलबार दिउँसो तीन बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन।
सिंहदरबारभित्र सबैजसो मन्त्रालयमा आगो लागेका छन्। काठमाडौंको आकाशमा रातभर बादल लागेको भए पनि पानी नपरेकाले सिंहदरबारभित्रको आगो नियन्त्रणमा आउन सकेन।
जेन–जी प्रदर्शनकारीले दिउँसैदेखि सिंहदरबारको मूलगेट, पश्चिम गेटमा आगजनी गरेको भए पनि सुरक्षाकर्मीको उपस्थिति थिएन। तोडफोड र आगजनी सकेर प्रदर्शनकारी निस्कन थालेपछि मंगलबार साँझमात्रै सेनाले उपस्थिति बढाएको थियो।
महाराजगञ्जमा रहेको राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास, संसद भवनमा पनि आगो अझै नियन्त्रणमा आएको छैन। काठमाडौंकै बौद्धको डिएसपी कार्यालय, महाराजगञ्जको डिएसपी कार्यालय, सोह्रखुट्टेमा रहेको डिएसपी कार्यालयसहित अधिकांश प्रहरी बिटमा आगजनी गरिएका छन्। त्यस्तै कीर्तिपुर, गोकर्णेश्वर नगरपालिकाहरूका भवनमा पनि आगजनी र तोडफोड भएको छ।