जेन–जी प्रदर्शनकारीले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा आगो लगाएका छन्। २०४६, २०६२–०६३ लगायत जनआन्दोलनमा प्रदर्शनकारी छिर्न नसकेको सिंहदरबारलाई जेन–जीले आगो लगाएका हुन्।
प्रदर्शनकारीले गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा मन्त्रालय लगायत धेरै मन्त्रालयहरूमा आगो लगाएका छन्। मन्त्रालय परिसरमा राखेका सवारी साधन तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्।
प्रदर्शनकारीले लगाएको आगोको कारण काठमाडौंको आधा आकास धुवाँले ढाकेको छ। सिंहदरबारमाथिको आकाशमा धुवाँको मुस्लो उडिरहेको छ।
सिंहदरबार परिसरमा सुरक्षाकर्मी विहीनताको अवस्था छ।
एक–दुई जना नेपाली सेनाका जवानहरूले प्रदर्शनकारीहरूलाई आगो लागेको ठाउँमा नजान सम्झाइरहे पनि जेन–जी रोकिएका छैनन्। मन्त्रालयमा लुटपाटसमेत भइरहेको छ।
कतिपय प्रदर्शनकारीहरूले सिंहदरबारभित्रका बहुमूल्य सामानहरू बोकेर हिँडिरहेको दृश्य पनि देख्न सकिन्छ।
केही बेरअघि प्रदर्शनकारीले सिंहरदरबारभित्र रहेको नेपाल टेलिभिजनको कार्यालयमा समेत तोडफोड गर्न खोजेका थिए।
प्रदर्शनकारीले नै केहीलाई संयमित हुन आग्रह गरेपछि उनीहरू रोकिएका थिए।
प्रदर्शनकारीहरूले सिंहदरबारको पश्चिम र पूर्वी गेटमा आगो लगाएर अहिले पनि निरन्तर प्रदर्शन गरिरहेका छन्।


