जेनजी पुस्ताले सोमबार बिहानदेखि सुरू गरेको आन्दोलन अराजक बन्दै गएपछि रूपन्देहीमा कर्फ्यू आदेश जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सोमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश जारी गरेको हो।
‘जेनजी पुस्ताको आह्वानमा गरिएको आन्दोलन नियन्त्रण बाहिर गएपछि नियन्त्रणका लागि कर्फ्यू आदेश जारी गरिएको हो,’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले भने।
प्रमुख जिल्ला अधिकारी पाण्डेले आन्दोलनकारीहरूले राजनीतिक दलका नेताहरूका घर जलाउने भन्दै खोज्दै हिँड्न थालेपछि कर्फ्यू लगाउनुपरेको बताए।
जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका तथा मुख्य राजमार्ग आसपासका क्षेत्रहरूमा कर्फ्यू आदेश जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयले बुटवल उपमहानगरपालिकाको पूर्वमा बुटवल धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला, तिलोत्तमा नगरपालिकाको दक्षिणमा मङ्गलापुर, सिद्धार्थनगरमा पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्ध चोक र दक्षिणमा मेउडिहवा तथा बुटवल बेलहिया सडक खण्डको १ सय मिटर दायाँबायाँसम्म सीमा तोकेर कर्फ्यु आदेश जारी गरेको हो।
कर्फ्यू जारी गरिएका क्षेत्रमा आवतजावत नगर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउ लगायतका कुनै पनि कार्य नगर्न निर्देशन गरेको छ।
यसअघि प्रदर्शनकारीहरूले बुटवल सुख्खा नगरस्थित नेकपा एमालेको लुम्बिनी प्रदेश कार्यालय घेराउ गरेका थिए। सयौँको सङ्ख्यामा गएका युवा विद्यार्थीहरूले कार्यालय घेराउ गरेपछि प्रहरीले प्रदर्शनीकारीलाई त्यहाँबाट लखेटेको थियो।
यस्तै, भैरहवामा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि प्रदर्शन कारीले घेराउ गरेका थिए। त्यहाँबाट पनि प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो।