सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सामाजिक सञ्जाल पुन: सञ्चालनमा ल्याउन सकारात्मक देखिएका छन्।
दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जेनजीका कुरा सुन्न र सामाजिक सञ्जाल खोल्न सभापति देउवाको ध्यानाकर्षण गराएका हुन्।
सभापति देउवालाई सोमबार डेढ घन्टा बूढानीलकण्ठमा भेट्दै दुवै महामन्त्री थापा र शर्माले जेनजीले उठाएका कुरालाई गम्भीरतापूर्वक सुन्न र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुराकानी गर्न आग्रह गरेका हुन्।
जेनजी पुस्ताको भावना आत्मसाथ गर्न सरकार सकारात्मक रूपले प्रस्तुत हुनुपर्ने कुरा सभापति देउवालाई भेटेर भनिएको महामन्त्री शर्माले जानकारी दिए।
सरकारले गत बिहीबारदेखि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेको थियो।
फेसबुकलगायत सामाजिक सञ्जाल बन्द हुँदा नागरिकहरूले अभिव्यक्त गर्ने प्लेटफर्म गुमाएका छन् भने व्यापार व्यवसायमा पनि यसको प्रभाव परेको छ।
जेनजी पुस्ताको भावना, विद्यार्थीलाई परेको असर, विदेशमा रहेका छोराछोरीसँग कुराकानी गर्न आमाबाबुलाई परेको अप्ठ्यारो, नजिकिएको चाडवार्ड, संगीत उद्योग, डिजिटल प्लेटफर्म माध्यमका सबै व्यवसायीलाई सामाजिक सञ्जाल बन्द गरिँदिँदा असर परेको महामन्त्रीद्वयले सभापति देउवालाई भनेका थिए।
सामाजिक सञ्जाल तत्काल खोल्न प्रधानमन्त्रीलाई कांग्रेसले आग्रह गर्नुपर्ने उनीहरूको भनाइ थियो।
साथै उनीहरूले जेनजी पुस्ताको भावना आत्मसाथ गर्न सरकार सकारात्मक हुनुपर्ने बताएका थिए।
‘असन्तुष्टिको रापमा स्वार्थको रोटी सेक्ने अवसर कुनै पनि अवसरवादीहरूलाई दिन हुँदैन, त्यसैले बेलैमा जेनजीका कुरा सुनौं,’ उनीहरूले सभापति देउवालाई भनेका थिए।
साथै उनीहरूले काठमाडौंलगायत देशका विभिन्न सहरमा हुने जेनजीको प्रदर्शनमा कुनै पनि हिंसा हुन नदिन प्रदर्शनकारी र सरकार दुवै पक्षलाई संयमित रूपले प्रस्तुत गर्नुपर्ने कुरा पनि राखेका थिए।
सभापति देउवा सामाजिक सञ्जाल खोल्न सकारात्मक देखिएका छन्। महामन्त्रीद्वयले यसबारे प्रधानमन्त्रीलाई भेटेर कुरा गर्न सभापति देउवालाई आग्रह गरेका छन्।
‘म पहिला हाम्रा मन्त्रीजीहरूसँग कुरा गर्छु, त्यसपछि प्रधानमन्त्रीजीसँग कुरा गर्छु,’ सभापति देउवाले भनेका थिए। यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध भएको थियो।
शनिबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले सरकारले सामाजिक सञ्जाल दर्ता गर्न आउ भनेको बताएका थिए।
देउवाले भदौ २१ गते विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै सामाजिक सञ्जाल दर्ता गर्ने कुरा भए पनि बन्द गर्ने कुरा नभएको बताएका थिए।
‘सामाजिक सञ्जाल बन्द गर भन्ने कुरा छैन। दर्ता गर भनेको हो, अदालतले पनि त्यही भनेको छ,’ सभापति देउवाको भनाइ थियो।
साथै दुवै महामन्त्री थापा र शर्माले ‘कूटनीतिक प्रक्रियामार्फत् सरकार स्वयं पनि तदारूक भएर सम्पर्क स्थापित गरी दर्ता प्रक्रियामा ल्याउन क्षमता प्रस्तुत गर्न सक्नुपर्ने’ कुरा पनि सभापति देउवासँग राखेका थिए।
जेनजीले काठमाडौं र अधिकांश प्रदेशका राजधानीहरूमा सोमबार सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए।
यो पनि: सरकारले सामाजिक सञ्जाल बन्द गरेकोमा कांग्रेसभित्र चर्को असन्तुष्टि