जेनजी पुस्ताले वीरगञ्जमा पनि प्रदर्शन गरेका छन्। वीरगञ्जको घण्टाघर चोकमा जम्मा भएर युवाहरूले विरोध प्रदर्शन गरेका हुन्।
सरकारले प्रतिबन्ध लगाएका सामाजिक सञ्जाल पुनःसञ्चालन गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने, सुशासन सहितको जवाफदेही शासन प्रणाली हुनुपर्ने माग उनीहरूको छ।
सामाजिक सञ्जालमार्फत गरिएको आह्वानका आधारमा उनीहरू प्रदर्शनका लागि सडकमा उत्रिएका थिए।
उनीहरूले 'जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ', 'कता हिँडेको ट्याक्स लुटेर?', 'अबको पालो युवाको', 'युवाहरू अनलाइन, नेताहरू अफलाइन' जस्ता नारा लगाएका थिए।
प्रदर्शनमा सहभागी सरण गुप्ताले प्रदर्शन व्यक्ति वा विशेषविरूद्ध नभई भ्रष्टाचार र बेथितिविरूद्ध भएको बताए।
'यो देश हाम्रो हो, हामी सुशासन र पारदर्शिता चाहन्छौँ,' उनले भने।
अर्का सहभागी रोमी अन्सारीले आन्दोलन केवल सडकमा सीमित नरहने बताए।
'हामीले नेताहरूलाई देखाइदियौँ कि यो पुस्ता चुप लागेर बस्दैन। देश बनाउने जिम्मेवारी हामीले अब आफ्नो काँधमा लिएको सन्देश दिएका छौँ,' उनले भने।
दिवस सर्राफले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तुरून्त हटाउनुपर्ने बताए।
'यो हाम्रो अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो। साथै, भ्रष्टाचारले देशलाई खोक्रो बनाइरहेको छ, अब हामीले यसलाई रोक्नुपर्छ,' उनले भने।
सुप्रिया साहले देशको भविष्य बनाउनको लागि लडाइँ सुरू गरेको बताइन्।
'आन्दोलनले हरेक युवालाई आफ्नो अधिकारप्रति सचेत बनाएको छ,' सुप्रियाले भनिन्।
ओम कुमार झाले आन्दोलनलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
सबै युवाहरूलाई एकजुट हुन आह्वान गरे।
'यो केवल वीरगञ्जको आन्दोलन होइन, यो सम्पूर्ण देशको युवा पुस्ताको साझा स्वर हो,' उनले भने।
घण्टाघरमा भेला भएका युवाले नाराबाजी गर्दै नगर परिक्रमा समेत गरेका थिए।
घण्टाघरबाट सुरू भएको र्याली माइस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमै आएर सम्पन्न भएको थियो।