प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तामा आचरणको प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरू हुने एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताको आचरण शुद्ध हुनुपर्ने बताएका हुन्।
'कतिपय नेता–कार्यकर्ताहरूको आर्थिक र अन्य आचरणमा सार्वजनिक रूपमा प्रश्न उठ्ने स्थिति बनेको छ। हाम्रो पार्टी नाम, झण्डा र लोगोमा मात्रै अन्य पार्टीभन्दा भिन्न होइन, यो सिद्धान्त, नीति, आचरण या शैली हरेक हिसाबले अरूभन्दा पृथक र उन्नत पार्टी हो। यस्तो पार्टीका एकाध नेता–कार्यकर्तामा पनि यस्ता प्रश्न उठ्नु कदापि उचित होइन। त्यसैले पार्टी पंक्तिमा शुद्धता ल्याउनै पर्छ,' अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनमा कामका अन्य ६ वटा क्षेत्र पनि तोकिएको छ।
पहिलो नम्बरमा ओलीले वैचारिक कामलाई जोड दिएका छन्।
'अब हामीले पार्टीमा वैचारिक काम सघन बनाउनुपर्छ। पछिल्लो समय वैचारिक काम, पठन संस्कृति र नीतिगत बहसको काम पातलिँदै गएको छ। विश्वको शक्ति सन्तुलन, भू–राजनीति, नेपाली समाज, उत्पादनका ढाँचा, शोषणका स्वरूप लगायत विषयमा तीव्र परिवर्तन आइरहेका छन् र यसले आन्दोलन सामु नयाँ नयाँ प्रश्न खडा भइरहेका छन्। तर हाम्रो पार्टी पंक्तिलाई यस विषयमा अद्यावधिक बनाउन सकिएको छैन। परिवर्तनसँग अपडेटेड हुन नसक्ने संरचनाहरू आउट–डेटेड हुन सक्छन्,' ओलीले भनेका छन्।
पार्टी पंक्ति र संरचना परिवर्तन गर्न नसके कुनै हावाहुरीका पछाडि बग्न सक्ने भन्दै एमालेले वैचारिक काम र स्कुलिङलाई प्रभावकारी बनाउनुपर्ने ओलीको जोड छ।
दोस्रोमा, ओलीले सदस्यता विस्तार र गुणस्तर वृद्धिमा जोड दिएका छन्।
पार्टीको जगका रूपमा रहेको सदस्यताको विस्तार र उनीहरूको गुणस्तर अभिवृद्धिमा समस्या देखा परेको ओलीको ठहर छ।
योजनाबद्ध ढंगले सदस्यता विस्तारको प्रयास नगर्ने, गुणस्तर अभिवृद्धि नगर्ने र सदस्यता प्रदान तथा नवीकरण गर्ने विषयलाई पार्टीभित्रको प्रतिस्पर्धामा आफ्नो अनुकूल पार्ने गरी स्वार्थप्रेरित ढंगले सञ्चालन गर्ने प्रवृत्ति पनि देखापरेको ओलीले बताएका छन्। र, यसलाई सच्याउन जोड दिएका छन्।
ओलीले तेस्रो कामको क्षेत्र संगठन परिचालनलाई तोकेका छन्।
'कमिटीलाई पद्धतिसम्मत ढंगले सञ्चालन गर्ने काममा पनि समस्या देखा परेका छन्। गुटबन्दीका प्रवृत्ति नियन्त्रण भएका छैनन्। हामीले जित्नुपर्ने प्रतिद्वन्द्वीहरू पार्टी बाहिर छन्। हामीले जित्नुपर्ने गरिबी विरुद्धको लडाइँ, पछौटेपन विरूद्धको लडाइँ, राष्ट्रिय हितको रक्षा र स्वाभिमानको लडाइँ पार्टी बाहिर छ। तर त्यो दायित्व बिर्सेर व्यक्ति स्वार्थलाई प्राथमिकता दिने, पार्टीभित्रको प्रतिस्पर्धा मुख्य ठान्ने, त्यसलाई अनावश्यक रूपमा तिक्त बनाउने र पार्टीमा भावनात्मक रूपमा विभाजनको रेखा कोर्ने प्रयास पनि छिटफुट रूपमा देखा परेका छन्,' ओलीले औंल्याउँदै भनेका छन्।
यसलाई नियन्त्रण नगरे पार्टी नबन्ने ओलीको ठहर छ।
'किनभने गुट बलियो हुनु भनेको पार्टी कमजोर हुनु हो,' ओलीले भनेका छन्।
चौथो नम्बरमा ओलीले जनसम्पर्क र जनपरिचालनमा जोड दिएका छन्।
जनसरोकारका मुद्दाहरूमा पार्टीलाई अग्रपंक्तिमा उभ्याउँदै जनताको भरोसाको पार्टीका रूपमा थप विकास गनुपर्ने ओलीको भनाइ छ।
'यसबीच पार्टी अलि बढी राजकीय जस्तो, जनताका समस्याको समाधानमा जनपरिचालनमा भन्दा पनि भनसुनमा ध्यान दिन थालेको जस्तो भएको छ। यसलाई अन्त्य गर्नैपर्छ। जनताको दुःखसुखको साथीका रूपमा पार्टीलाई थप क्रियाशील बनाउनुपर्छ,' ओलीले भनेका छन्, 'ताकि जनताले भनून्, हामीलाई समस्या पर्दा अरूले हेरून् नहेरून्, हामीलाई हेर्ने एमाले छँदैछ नि!'
विश्वका सबै कम्युनिस्ट निर्माणमा देखिने साझा आयाम भनेकै पार्टी नेता तथा कार्यकर्ताहरू जनताबीच घुलमिल हुने, आचरण र व्यवहारले जनताको मन जित्ने र यसकै आधारमा पार्टीको राष्ट्रव्यापी र अभेद्य सञ्जाल निर्माण गर्ने रहेको ओलीले बताएका छन्।
'कम्युनिस्ट पार्टीको देखासिकी गरेर कतिपय गैरलोकतान्त्रिक पार्टी या व्यवस्थाहरूले समेत यस्तो अभ्यास गर्ने प्रयत्न गरेको देखिन्छ। हाम्रो ध्यान यसमा केन्द्रित हुनुपर्छ,' ओलीले भनेका छन्।
पाँचौंमा, ओलीले निर्वाचनको योजनाबद्ध तयारीमा जोड दिएका छन्।
उनले एमालेका लागि निर्वाचन व्यक्तिगत रूपमा कसले उम्मेदवारी पाउने या नपाउने जस्तो प्राविधिक प्रश्न नभएको र समाजवादको आधार निर्माणको अनिवार्य पूर्वसर्त भएको पनि ओलीले बताएका छन्।
'त्यसैले यसलाई व्यक्ति केन्द्रित गरेर सोच्ने, आफूले उम्मेदवारी पाए ठीक नपाए बेठीक भन्दै असहयोग, असमझदारी या अन्तरघात गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नैपर्छ। तब मात्रै हामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सक्छौं,' ओलीले भनेका छन्।
छैटौंमा ओलीले पार्टीको शासकीय क्षमता अभिवृद्धिमा जोड दिएका छन्।
'हामीले जसरी समुन्नत लोकतन्त्रका रूपमा जनताको बहुदलीय जनवादको सिद्धान्त विकास गरेका छौं। त्यसरी नै, त्यससँग अनुकूल हुने गरी पार्टी जीवनको लोकतान्त्रीकरणको पनि अगुवाइ गर्दै आएका छौं। आफैभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले समाजमा पनि लोकतन्त्रको अगुवाइ गर्न सक्दैन भन्ने हाम्रो स्पष्ट मान्यता छ,' ओलीले भनेका छन्।
पार्टीको लोकतान्त्रीकरणको सार नै पार्टीका सिद्धान्त, विचार र नीति निर्माणमा पार्टी पंक्तिको व्यापक सहभागिता, एकै जना व्यक्तिमा सम्पूर्ण अधिकार केन्द्रित गर्ने 'महासचिवीय' ढाँचाको ठाउँमा बहुपद सहितको सामूहिक नेतृत्व, पदाधिकारीहरू सिधै महाधिवेशनप्रति उत्तरदायी हुने निर्वाचन प्रणाली, पार्टी कामको आवधिक मूल्यांकनका लागि महाधिवेशन/अधिवेशन प्रतिनिधि परिषदको व्यवस्था, पार्टीका नीतिहरूबारे समाजका विभिन्न तह–तप्काहरूबाट पनि पृष्ठपोषण प्राप्ति, पार्टीमा नयाँ पुस्ताको योजनाबद्ध पहिचान, प्रवेश र नेतृत्व विकास, पार्टीमा समावेशिता आदि भएको उनको भनाइ छ।
एमालेले यी विषयहरूमा मुलुकका अन्य पार्टीलाई समेत प्रभावित गर्दै आएको ओलीको जिकिर छ।
'पार्टी जीवनको लोकतान्त्रीकरण भनेको पार्टीको लक्ष्यसँग अविभाज्य ढंगले जोडिएको विषय हो। लक्ष्यबाट बहकिएको या त्यसलाई सघाउ नपुर्यााउने खालको लोकतान्त्रीकरणको उपादेयता हुँदैन। लोकतन्त्र र अनुशासन अन्तरसम्बन्धित हुन्, निषेधकारी होइनन्। बहस र निर्णय कार्यान्वयन परिपूरक विषय हुन्, अन्तरविरोधी होइनन्। मूल नेतृत्व र पदाधिकारीहरू एउटा टिम हुन्, स्वयम्भू र स्वायत्त टापूहरू होइनन्,' प्रतिवेदनमा उल्लेख छ।
ओलीले युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय भएको र विभाजनकारी नभएको पनि उल्लेख गरेका छन्। त्यसैले यसलाई समष्टिमा हेर्नुपर्ने उनको मान्यता छ।
'हाम्रा सबै प्रयासहरू पार्टीलाई एकताबद्ध बनाउन, जनतामा पार्टीको प्रतिष्ठालाई माथि उठाउन र हाम्रो गन्तव्यमा पुग्न सघाउने खालको हुनुपर्छ। जीवनभर जनताको बहुदलीय जनवादको आलोचना गर्ने, लोकतान्त्रीकरणका प्रश्नलाई खिसिट्युरी गर्ने र पायक पर्दा छनौटपूर्ण विषय उठाएर बहस गर्नु उचित हुँदैन। कुनै पनि विषय अपरिहार्य, निर्विकल्प या हस्तान्तरण नहुने हुँदैन। तर परिस्थिति, सन्दर्भ, आन्दोलनको आवश्यकता र समग्र आयामलाई हेरेर यसको निर्क्यौल गरिनुपर्छ,' प्रतिवेदनमा उल्लेख छ।
यसरी राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष ओलीले पार्टी जीवनको लोकतान्त्रीकरण र नेतृत्व हस्तान्तरणबारे प्रश्न उठाइरहेकाहरूलाई जबाफ दिएका छन्।
एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारबाट ललितपुरको गोदावरीमा हुँदैछ।
तीन दिनसम्म चल्ने महाधिवेशनले एमालेको नीति र विधान तय गर्नेछ। एमालेमा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक दस्तावेज दर्ज गरेका छन्।
उनले पार्टी जीवनको लोकतान्त्रीकरण (कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद, दुई कार्यकालको प्रावधान), पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले फर्किन रोक लगाउने केन्द्रीय कमिटी बैठकको निर्णय लगायतका विषय समेटेर छुट्टै दस्तावेज दर्ता गराएका हुन्।
थापाले छुट्टै अघि सारेको प्रतिवेदन शुक्रबारबाट सुरू हुने विधान महाधिवेशनमा प्रस्तुत हुने भएको छ।