युरोपियन कमिसनकी प्रमुख उर्सला भोन डेर लेयन चढेको विमानको जिपिएस प्रणाली शंकास्पद रूसी आक्रमणले अवरूद्ध पारेपछि कागजी नक्सा प्रयोग गरेर अवतरण गरिएको छ।
आइतबार दिउँसो बुल्गेरियाको प्लोभडिभ जाँदै गरेको भोन डेर लेयन बोकेको जेट विमानको जिपिएस प्रणाली नचलेपछि कागजी नक्सा प्रयोग गरेर अवतरण गरिएको थियो।
त्यसलाई रूसी हस्तक्षेप कारबाहीका रूपमा लिइएको भनेर तीन जना अधिकारीहरूको हवाला दिँदै फाइनान्सियल टाइम्सले लेखेको छ।
'हवाईअड्डा क्षेत्रको सम्पूर्ण जिपिएस अन्धकारमा गयो,' एक अधिकारीले फाइनान्सियल टाइम्सलाई भने, 'हवाईअड्डाको वरिपरि एक घण्टासम्म चक्कर लगाएपछि विमानका पाइलटले ‘एनालग’ नक्सा प्रयोग गरेर म्यानुअल रूपमा विमान अवतरण गर्ने निर्णय लिए। यो निर्विवाद हस्तक्षेप थियो,' उनले थपे।
बुल्गेरियाको हवाई यातायात सेवा प्राधिकरणले फाइनान्सियल टाइम्सलाई दिएको बयानमा पनि यो घटनाको पुष्टि गर्यो।
'सन् २०२२ को फेब्रुअरीदेखि, [जिपिएस] ‘ज्यामिङ’ र हालै ‘स्पूफिङ’ घटनाहरूमा उल्लेखनीय वृद्धि भएको छ,' बयानमा भनिएको छ, 'यी हस्तक्षेपहरूले [जिपिएस] सिग्नलहरूको सटिक प्राप्तिलाई अवरूद्ध गर्छ, जसले विमान र भू-प्रणालीहरूका लागि विभिन्न परिचालन चुनौतीहरू निम्त्याउँछ।'
युरोपियन कमिसनले पनि पछि यो घटनाको पुष्टि गर्यो।
'जिपिएस ज्यामिङ भएको थियो तर विमान बुल्गेरियामा सुरक्षित रूपमा अवतरण गर्यो,' एक प्रवक्ताले भने।
'हामीलाई बुल्गेरियाली अधिकारीहरूबाट जानकारी प्राप्त भएको छ कि उनीहरूले यो रूसको स्पष्ट हस्तक्षेपका कारण भएको शंका गरेका छन्। हामी रूसको शत्रुतापूर्ण व्यवहारको नियमित हिस्सा रहेको धम्की र त्रासको बारेमा सचेत छौं र त्यसबारे अभ्यस्त छौं,' ती प्रवक्ताले थपे।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने सो आरोपको खण्डन गरेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
भूउपग्रह-आधारित जिपिएस प्रणालीलाई नचल्ने पार्ने ‘ज्यामिङ’ र ‘स्पूफिङ’ परम्परागत रूपमा विकसित देशका सैन्य र गुप्तचर निकायहरूले संवेदनशील स्थानहरूको सुरक्षाका लागि प्रयोग गर्दै आएका छन्। तर हालै रूसजस्ता देशहरूले नागरिक जीवनलाई अवरूद्ध गर्ने साधनको रूपमा पनि यसको व्यापक प्रयोग गरिरहेको पश्चिमा देशहरूले दाबी गर्ने गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)