सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को शिखर सम्मेलन विश्वको चासोमा परेको छ।
पछिल्लो भूराजनीतिमा विकसित घटनाक्रमहरूका आधारमा यसलाई अमेरिका र युरोपेली मुलुकहरूले अझै मसिनो गरी नियाल्नु स्वाभाविक हो।
यो सम्मेलनमा विश्वका तीन शक्तिशाली मुलुकका राष्ट्रप्रमुखहरू सहभागी छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सम्मेलनमा सहभागी छन्।
मोदीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरिसकेका छन्। रूसी राष्ट्रपति पुटिनसँग आज भेट्दैछन्।
शिखर सम्मेलन हुने टियानजिनमा तीन नेताबीच अनौपचारिक कुराकानी भएको तस्बिर पनि सार्वजनिक भएको छ।
सो तस्बिर प्रधानमन्त्री मोदी आफैले सामाजिक सञ्जाल एक्सबाट सार्वजनिक गरेका छन्।
तस्बिरबारे भारतीय मिडिया एनडिटिभीले संक्षिप्त लेखेको छ।
एनडिटिभीले उक्त तस्बिर टियानजिनमा उपस्थित भएका राष्ट्र र सरकार प्रमुखहरूको सामूहिक फोटो खिचाउन मञ्चमा जाँदा लिइएको उल्लेख गरेको छ।
फोटो खिचाउन मञ्चतर्फ पुटिन र मोदी सँगै अगाडि बढेका थिए। त्यसपछि राष्ट्रपति सी पनि उनीहरूसँगै जोडिएका थिए।
मोदी बीचमा थिए भने। दायाँबायाँ पुटिन र सी थिए।
अगाडि गएर तीनै जनाले अनौपचारिक कुराकानी पनि गरेका थिए। के कुराकानी भयो भन्ने नखुलेपनि उनीहरूको मुस्कान र शरीरको भावभंगीले सकारात्मक सन्देश दिएको भनेर भारतीय सञ्चारमाध्यमहरूले प्राथमिकताकासाथ लेखेका छन्।
कुराकानीका क्रममा पनि मोदीले सी र पुटिनको हात समातेका थिए।
रूससँग भारतको सम्बन्ध अगाडिदेखि नै राम्रो छ।
भारतले रूसबाटै पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ। रूसको तेल किनेर उसलाई युक्रेनमा हमला गर्न सहयोग गरेको आरोप अमेरिकाले भारतलाई चर्को भन्सार लगाएको छ।
त्यसबापतको कारबाही भनेर अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत भन्सार कार्यान्वयनमा ल्याइसकेको छ।
त्यसको जबाफमा भारतले कुनै पनि निर्णय अहिलेसम्म गरेको छैन। बरू त्यसको बदलामा चीनसँगको सम्बन्ध सुधारमा लागेको छ।
आइतबार चिनियाँ राष्ट्रपति सीसँग मोदीले एक घन्टा कुराकानी गरे।
भेटवार्तामा दुवै राष्ट्रप्रमुखले एकअर्काको राम्रो छिमेकी बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चिनियाँ राष्ट्रपति सीले राम्रो मित्र बन्नु नै दुवै देशका लागि उत्तम विकल्प रहेको मोदीलाई भनेका छन्।
'आजको विश्व अभूतपूर्व परिवर्तनबट गुज्रिरहेको छ। अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर र जटिल छ। यस्तो अवस्थामा दुवै पक्षका लागि उत्तम विकल्प भनेको राम्रो छिमेकी र मित्रवत् साझेदार बन्नु हो, जसले एकअर्काको सफलता सुनिश्चित गर्छ। हात्ती र ड्रागनले सँगसँगै नृत्य गर्नु भनेको यही हो,' राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले उल्लेख गरेको छ।
उनले दुई देश प्रतिद्वन्द्वीका रूपमा नभई साझेदारका रूपमा अगाडि बढ्दा सम्बन्ध दीर्घकालीन रूपमा स्थिर रहन सक्ने पनि बताएका।
राष्ट्रपति सीको कुरामा मोदीले पनि सहमति जनाएका छन्। उनले आपसी विश्वास र सम्मानका आधारमा सम्बन्धलाई अगाडि बढाउन भारत प्रतिबद्ध रहेको पनि बताए।
'सीमामा तनाव कम भएको र सम्बन्ध सुधारतर्फ अघि बढिरहेको छ। हाम्रो २८० करोड जनताको हित आपसी सहकार्यसँग जोडिएको छ,' मोदीले सीलाई भनेको कुरा उद्धृत गर्दै सिएनएनले लेखेको छ।
सीसँग भेटका क्रममा मोदीले चीनमा सिधा हवाई उडान सुरू गर्ने घोषणा पनि गरेका छन्।
चीनबाट सुरू भएको कोभिड महामारीका कारण सन् २०२० को सुरूमा दुई देशबीचका उडान बन्द भएका थिए।
सोही वर्षको जुन महिनामा गलवान उपत्यकामा भिडन्त भएपछि सम्बन्ध बिग्रेकाले कोभिड महामारी सकिएपछि पनि उडान भएका छैनन्। मोदीले कहिले देखि उडान सुरू हुने भन्ने चाहिँ खुलाएनन्।
इण्डिगोले पहिलेदेखि नै चीन उडान गर्ने भनेको छ। त्यस्तै एयर इण्डियाले पनि चीन उडान गर्ने अपेक्षा गरिएको छ।
सम्बन्ध सुधार हुन थालेपछि भर्खरै चीनका विदेश मन्त्री वाङ यीले भारत भ्रमण गरेका थिए। सो भ्रमणमा भारत र चीनले एक अर्कालाई प्रतिद्वन्द्वी नभएर साझेदार ठान्नु पर्ने उनले बताएका थिए।
भ्रमणका क्रममा चीनले दुर्लभ खनिज पदार्थबाट बनेको चुम्बक भारतमा, मल र सुरूङ खन्ने मेसिनहरूको भारत निर्यातमा लगाएको प्रतिबन्ध हटाउन पनि सहमत भएको थियो।
त्यस्तै भारतसँगको सीमामा रहेको तनाव कम गर्ने लगायत विषयमा पनि दुई देशबीच सहमति भएको थियो। ब्लुमबर्गका अनुसार भारतमा युरिया मल निर्यात गर्न चीनले लगाएको प्रतिबन्ध अगस्ट महिनादेखि खुकुलो बनाएको छ।
मोदी निकट व्यवसायी गौतम अदानीको समूहले भारतमा ब्याट्री उत्पादन गर्न चिनियाँ विद्युतीय सवारी निर्माता बिवाइडीसँग छलफल पनि गरिरहेको छ।
मोदीले चिनियाँ नागरिकलाई टुरिस्ट भिसामा लगाएको प्रतिबन्ध यसअघि नै हटाइसकेका छन्। चीनले पनि भारतीय तीर्थयात्रीका लागि मानसरोवर यात्रा खुला गरिसकेको छ।
चीन र रूसको सम्बन्ध पुरानो हो। युक्रेन युद्धपछि दुई देशको सम्बन्ध अझै गहिरिएको छ। पश्चिमी प्रतिबन्धका कारण एक्लिएको मस्कोले ऊर्जा निर्यातदेखि सैनिक–रणनीतिक सहकार्य सम्ममा बेइजिङतर्फ ढल्किएको छ। चीनले पनि सस्तो रूसी तेल–ग्यास आयात र भू–राजनीतिक गठबन्धनलाई आफ्नो फाइदामा प्रयोग गरेको छ।
ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेयता भारत र चीनसँगको सम्बन्ध थप बिग्रिएको छ। युक्रेनमा आक्रमणपछि अमेरिकाले रूसमाथि विभिन्न प्रतिबन्ध लगाएर दबाब दिँदै आएको छ।
यी परिप्रेक्ष्यमा पुटिन, सी र मोदीबीच भेटवार्ताले ठूलो अर्थ राख्ने भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।