नेपाली कांग्रेसले अनुशासन कारबाहीका लागि सिफारिस आए पनि कारबाही निर्णय भइनसकेका कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नरोक्ने निर्णय गरेको छ।
अनुशासन समितिमा उजुरी परेका नेता, कार्यकर्ताहरूको क्रियाशील सदस्यता नवीकरण मातहत समितिले रोक्दै आएको थियो।
महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबारको बैठकले अनुशासन कारबाही सिफारिसमा परेका तर कारबाही निर्णय भइनसकेकाहरूका हकमा क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो।
‘अनुशासनसम्बन्धी कारबाही सिफारिस भएका तर अनुशासन समितिले कारबाही गरिनसकेका कार्यकर्ताको हकमा अहिलेसम्म नवीकरण नगरिएकोमा अब नवीकरण गर्न प्रक्रिया अघि बढाउन मातहत समितिहरूलाई निर्देश गर्ने निर्णय भएको छ,’ क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले सेतोपाटीसँग भने, ‘अनुशासन समितिले भोलिका दिनमा कारबाही निर्णय गरेका खण्डमा त्यसअनुसार नै अघि बढ्ने निर्णय भएको छ।’
अनुशासनसम्बन्धी कारबाही सिफारिस भएकाहरूलाई अनुशासन समितिले प्रकृति हेरेर ६ महिनादेखि ५ वर्षसम्म पार्टीको सदस्यताबाट हटाउने निर्णय लिन सक्छ। तर यो निर्णय पार्टी केन्द्रीय समितिले निर्णय गरेपछि कार्यान्वयन हुने व्यवस्था छ।
कांग्रेसमा केन्द्रीय सदस्य आनन्द ढुंगानाको संयोजकत्वमा अनुशासन समिति छ। उक्त समितिमा करिब २१ सय जनाविरूद्ध चुनावमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेकाजस्ता उजुरी छन्। तीमध्ये अहिलेसम्म लुम्बिनी महामन्त्री विक्रम खनालसहित केहीलाई कारबाही गरिसकेको छ।
अनुशासन समितिले कारबाही सिफारिसमा परेकाहरूबारे तत्काल निर्णय नगर्दा क्रियाशील सदस्यता नवीकरण रोकिन पुगेको थियो।
साथै कांग्रेसले जनसम्पर्क समिति रहेका ३७ देशमा क्रियाशील सदस्यता नवीकरण अनलाइनबाटै गर्ने निर्णय पनि गरेको छ। यसअघि कांग्रेसले पार्टीको सदस्य (साधारण सदस्य) मात्रै अनलाइनबाट दिने गरेको थियो।
‘विश्वको जुनसुकै ठाउँमा रहेका नेपालीले पनि जनसम्पर्क समितिको सम्पर्कबिना पनि अब अनलाइनबाट क्रियाशील सदस्यता नवीकरण गर्न सक्छन्,’ उनले भने।
साथै असोज मसान्तभित्र सबै नवीकरण गरिसक्ने र अब म्याद थप नहुने पनि उनले बताए।
क्रियाशील सदस्यता नवीकरण पूरा नहुँदा कांग्रेस केन्द्रीय समितिबाट १५ औं महाधिवेशन कार्यतालिका ल्याउन ढिलाइ भइरहेको छ।
२०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको कांग्रेसले यही मंसिरभित्र महाधिवेशन गर्नुपर्ने हो। तर सभापति शेरबहादुर देउवाले विधानको व्यवस्थाअनुसार विशेष परिस्थिति देखाएर एक वर्ष कार्यकाल थप गर्ने तयारी गरेका छन्।
क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्यहरूमा सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) छन्। क्रियाशील सदस्यता नवीकरणका लागि कांग्रेसले पटक पटक म्याद थप गर्दै आएको छ।