अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धलाई चर्काइरहेका बेला चीनका राष्ट्रपति सी चिनफिङले पत्र लेखेर भारतसँग सम्बन्ध सुधारको पहल गरेको खुलेको छ।
ट्रम्पले चीनमाथि आक्रामक नीति लिने निश्चित भएपछि सम्बन्ध सुधारको सम्भावनाबारे बुझ्नका लागि सीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई पत्र लेखेका थिए भनेर ब्लुमबर्गले खुलासा गरेको छ।
उक्त पत्रमा अमेरिकाले भारतसँग गर्ने कुनै पनि सम्झौताले चीनको हितमा हानि पुर्याउन सक्नेबारे चिन्ता व्यक्त गरिएको भनेर एक भारतीय अधिकारीलाई उद्धृत गर्दै ब्लुमबर्गले लेखेको छ।
संवैधानिक राष्ट्र प्रमुख मुर्मुको कुनै कार्यकारी भूमिका नभए पनि भारतसँग सम्बन्ध सुधार्न सीले उनलाई पत्र लेखेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रुअरीमा अमेरिका भ्रमण गरेका थिए।
ट्रम्पलाई सच्चा मित्र भन्ने मोदीले उनलाई खुसी पार्न चीनलाई घाटा हुने खाले सम्झौता गर्लान् कि भनेर सी त्यतिबेला चिन्तित भएका हुन सक्छन्।
सीले सम्बन्ध सुधारको प्रयासलाई अघि बढाउन चीनका एक प्रान्तीय अधिकारीको नाम पनि सो पत्रमा उल्लेख गरिएको थियो।
पत्रबारे जानकार ती भारतीय अधिकारीका अनुसार चीनले सम्बन्ध सुधार्न खोजेको भन्ने सो सन्देश मोदीसम्म पनि पुर्याइएको थियो।
सो पत्र लेखेको केही समयपछि चीनले सीको एक विज्ञप्ति निकाल्दै चीन र भारतको सम्बन्धलाई ‘ड्र्यागन-हात्ती नृत्य’ भनेका थिए। सांस्कृतिक रूपमा चीनलाई ड्र्यागन भनिन्छ भने भारतलाई हात्तीका रूपमा चित्रण गरिन्छ।
सीले त्यतिबेला पहल गरेकाले ट्रम्प भारतप्रति पनि आक्रामक हुन थालेपछि मोदीलाई चीनसँग सम्बन्ध सुधार गर्न सजिलो भयो।
सन् २०२० जुनमा सीमा क्षेत्रको गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो।
हतियारबिना भएको सो भिडन्तमा २० भारतीय र चार चिनियाँ सैनिक जवानको मृत्यु भएको थियो।
गत वर्षको अन्त्यदेखि बल्ल दुई देशको सम्बन्ध सुध्रिन थालेको थियो। पछिल्लो समय ट्रम्पले भारतप्रति कडा नीति लिएपछि यसमा झन् तीव्रता आएको छ।
ट्रम्पले जुलाईको अन्त्यमा भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए। त्यसपछि भारतले अझै रूसी कच्चा तेल किनिरहे अगस्टको अन्त्यदेखि लागू हुने गरी भारतबाट आयात हुने सबै सामानमा थप २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए।
सो चेतावनी अनुसार ट्रम्पले बुधबारदेखि भारतीय सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाइसकेका छन्।
ट्रम्पले भारतप्रति आक्रामक नीति लिएपछि अगस्ट ३१ देखि हुने सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन मोदी चीन जाँदै छन्। त्यति बेला उनले चीनमा सीधा हवाई उडान सुरू गर्ने बारे घोषणा गर्ने अपेक्षा गरिएको छ।
चीनबाट सुरू भएको कोभिड महामारीका कारण सन् २०२० को सुरूमा दुई देशबीचका उडान बन्द भएका थिए। सोही वर्षको जुन महिनामा गलवान उपत्यकामा भिडन्त भएपछि सम्बन्ध बिग्रेकाले कोभिड महामारी सकिएपछि पनि उडान भएका छैनन्।
सम्बन्ध सुधार हुन थालेपछि भर्खरै चीनका विदेश मन्त्री वाङ यीले भारत भ्रमण गरेका थिए। सो भ्रमणमा भारत र चीनले एक अर्कालाई प्रतिद्वन्द्वी नभएर साझेदार ठान्नु पर्ने उनले बताएका थिए।
भ्रमणका क्रममा चीनले दुर्लभ खनिज पदार्थबाट बनेको चुम्बक भारतमा, मल र सुरूङ खन्ने मेसिनहरूको भारत निर्यातमा लगाएको प्रतिबन्ध हटाउन पनि सहमत भएको थियो।
त्यस्तै भारतसँगको सीमामा रहेको तनाव कम गर्ने लगायत विषयमा पनि दुई देशबीच सहमति भएको थियो। ब्लुमबर्गका अनुसार भारतमा युरिया मल निर्यात गर्न चीनले लगाएको प्रतिबन्ध अगस्ट महिनादेखि खुकुलो बनाएको छ।
मोदी निकट व्यवसायी गौतम अदानीको समूहले भारतमा ब्याट्री उत्पादन गर्न चिनियाँ विद्युतीय सवारी निर्माता बिवाइडीसँग छलफल पनि गरिरहेको छ।
मोदीले चिनियाँ नागरिकलाई टुरिस्ट भिसामा लगाएको प्रतिबन्ध यसअघि नै हटाइसकेका छन्।
चीनले पनि भारतीय तीर्थयात्रीका लागि मानसरोवर यात्रा खुला गरिसकेको छ। मोदीको चीन भ्रमणका बेला चीनसँगको व्यापार सम्बन्ध थप सुधार्न अरू पनि निर्णय हुने अपेक्षा गरिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)