नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको कम्युनिस्ट आन्दोलन दिग्भ्रमित भएकाले जनतालाई दिग्दर्शन गर्नुपर्ने बताएका छन्।
दिग्भ्रमित भएका जनताहरूलाई उज्यालो तर्फ, एकतातर्फ, रूपान्तरणतर्फ र विकासतर्फ लैजान दिग्दर्शन चाहिएको बताएका हुन्।
सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले दिग्भ्रमित जनतालाई बाटो पहिल्याउन प्रतिष्ठानले अन्तरक्रिया आयोजना गरेको बताए।
उनले नेपालमा पटक पटक राजनीतिक परिवर्तन भए पनि नेपालको अर्थतन्त्र गणतन्त्र जनताको हातमा नभई मुट्ठीभर व्यक्तिको हातमा पुग्दा जनताले परिवर्तनको अनुभूति गर्न नसकेको बताए।
उनले अहिले देखा परेको संकटको कारण अर्थतन्त्रमा परिवर्तन नआउनु भएको भन्दै नेपाली समाजलाई अगाडि बढाउन सच्चा, इमानदार कम्युनिस्ट पार्टीले नै नेतृत्व गर्नुपर्ने बताए।
‘मुलुकमा अहिलेको अवस्था ल्याउन सुकुम्वासी, दलित, किसान, मजदुर लगायत सर्वसाधारणले आन्दोलन लडे, रगत पसिना बगाए तर, त्यसबाट उनीहरूको जीवन परिवर्तन हुन सकेन। गणतन्त्रसम्मका सबै परिवर्तनलाई आत्मसाथ गर्दै यसपछिको नेतृत्वको पुनर्गठन जरूरी छ,’ उनले भने।
उनले वर्तमान संकटबाट समाधान गर्नका लागि आफूहरूले बहसको थालनी गरेको दाबी गरे।
‘अहिलेको बहस त्यसैको थालनी हो, कसैले नयाँ पार्टी बनाउने हो कि? भनेर जिज्ञासा राख्छन्, यो बहसको थालनी पार्टी बनाउन नभई वर्तमान संकटको समाधानको लागि हो,’ महासचिव विप्लवले भने।
उनले भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थलमा एकै दिन ५० लाख घुस खाने गरिएको प्रसङ्ग उल्लेख गर्दै नेपाललाई भ्रष्टाचारले खाइसकेको बताए।
‘अहिलेको गृहमन्त्री रमेश लेखकलाई कांग्रेसभित्रको बुद्धिजीवी ठानेका थियौं, तर उहाँकै कर्मचारीले उहाँमाथि एउटै कार्यालयबाट दैनिक ५० लाखसम्म घुस बुझाएको आरोप लगाएका छन्,’ उनले भने।
विप्लवले सरकारका मन्त्रीहरूले नै न्यायालयमा पैसाबिना केही नहुने भनेर दिएको अभिव्यक्तिले देशको अवस्था झल्काएको बताए।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने नेताको मात्रै कम्युनिस्ट पार्टी आवश्यक भएको बताए।
अहिलेका कम्युनिस्ट पार्टी र तिनका नेताहरू दलाल पुँजीवादको कब्जामा पुग्दा जनतामा निराशा र छटपटी आएको बताए।
पुराना दल र ती दलका नेता मात्र होइन नयाँ भनिएकाहरू समेत भ्रष्ट देखिएको भन्दै जनतालाई छनोटको विकल्प नभएको बताए।
‘पुराना पुरानै भ्रष्ट भए पुरानालाई विस्थापित गर्ने भन्दै आएका नयाँहरू झनै भ्रष्ट देखिए जनतालाई विकल्प छैन,’ उनले भने।
भुसालले सत्ता, सरकार, पार्टी नेतृत्व, नेताहरूका गुटले जनतालाई झुट बोल्ने र धेरै अपमानित गरेको भन्दै त्यही अपमानका कारण समाज बौलाएको बताए।
‘नेपालको राजनीतिक नेतृत्व, सत्ता, नेता, तिनका गुटले जनतालाई यति अपमानित गरेको छ कि समाज बौलाएको छ, त्यसबाट निकास दिन अब ध्रुवीकरण जरूरी छ,’ भुसालले भने।
भुसालले नेपालमा व्यवस्था र संविधान बदलिए पनि दलहरूको ढाँचा, संरचना र तरिका उस्तै रहेको बताए।
‘मुलुकमा राजनीतिक रूपमा धेरै परिवर्तन भए तर, पार्टी, पार्टीका ढाँचा, संरचना, पार्टी चल्ने विधि भने परिवर्तन हुन सकेनन्। पार्टीहरू नबदलिएका कारण राजाको पालामा रहेको दलाल पुँजीवाद गणतन्त्रको आठ वर्ष सम्म पनि रहिरह्यो,’ भुसालले भने।
भुसालले माओवादीभित्र जनयुद्ध र एमालेभित्र बहुदलीय जनवादको सङ्कल्प दलाल पुँजीवादको भित्तामा ठोक्किएर घाइते भएको टिप्पणी गरे।
‘त्यसैले पनि मुलुकको भाग्य र भविष्यका लागि हामीहरू एकजुट भएका हौँ,’ उनले भने।
महासचिव भुसालले अहिले उद्योगी, व्यवसायी, किसान, मजदुर आम सर्वसाधारण मात्र होइन देउवा, ओली, प्रचण्ड, माधव नेपालदेखि रविसम्म असन्तुष्टि रहेकाले अब नयाँ निकास आवश्यक रहेको पनि बताए।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा अहिलेको समस्या देखा परेको बताए।
उनले नेतृत्वले जसले जयजयकार गर्छ, उसैलाई अगाडि बढाउने गर्दा पार्टीहरूमा जनताका मुद्दाहरू बुझ्ने क्षमता हराउने गरेको बताए।
उनले लोकतन्त्र जनताको लागि नभएको भन्दै लोकतन्त्रलाई कसरी जनताको बनाउने भन्नेतर्फ बहस जरूरी रहेको बताए। त्यसैको लागि पनि आफूहरूले बहसको थालनी गरेको उनको भनाइ छ।
‘कम्युनिस्ट पार्टीहरूमा स्पष्ट नीति नहुँदा लोकतन्त्र जनताको बन्न सकेको छैन,’ उनले भने।
उनले कसैको निहित स्वार्थका लागि नेकपा विभाजन भएको प्रसङ्ग उल्लेख गर्दै आजको निराशाको प्रमुख कारण र नयाँ शक्तिहरू पैदा हुनुको जिम्मेवारी नेकपाको नेतृत्वले लिनुपर्ने बताए।
‘विचारमा समस्या थियो होला, त्यो मिलाउन सकिन्थ्यो, तर सत्ता स्वार्थको कारण जनताको विश्वासमाथि चिसो पानी खन्याइयो,’ उनले भने।
उनले समाजवादको कुरा गर्ने अनि, व्यक्तिगत स्वार्थमा केन्द्रित भएर त्यो प्रयास असफल बनाएको बताए।
कम्युनिस्टभित्र रहेको महारोगको कारणले आज समस्या सिर्जना भएको हो,’ उनले भने।
शर्माले प्रचण्डतर्फ इंगित गर्दै २०७९ सालको चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाए पनि आफ्नै कारणले गठबन्धन फेरिएको बताए।
‘आफ्नै ढंगले गठबन्धन फेर्ने अभियानमा लाग्दा आज जनताको एजेन्डाहरू सम्बोधन गर्न नसक्ने अवस्थामा पुगिएको छ,’ शर्माले भने।
शर्माले नेताहरूलाई गाली गर्ने नभई उहाँहरूको भूमिकालाई स्थापित र सम्मान गर्ने तर गरेका गल्तीबाट पाठ सिकाउने गरी वैचारिक बहसको सुरूआत गर्नुपर्ने बताए।