अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छ लाख चिनियाँ विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा पढ्न दिने घोषणा गरेपछि उनका कट्टर समर्थकहरू आक्रोशित भएका छन्।
चीनसँगको सम्बन्ध सुधार गर्ने प्रयासको रूपमा ६ लाख चिनियाँ विद्यार्थीलाई अनुमति दिने भनेर ट्रम्पले सोमबार घोषणा गरेका थिए। तर यो घोषणाको उनका उग्रपन्थी समर्थकहरू रिसाएका छन्। ट्रम्पका कट्टर समर्थकहरू चीन र आप्रवासी दुवैमाथि आक्रामक रहेकाले उनीहरूले ट्रम्पको यो कदमको विरोध गरेका हुन्।
चिनियाँ विद्यार्थीलाई प्रवेश रोक लगाए अमेरिकी विश्वविद्यालय आर्थिक रूपमा चल्नै सक्दैनन् भनेर ट्रम्पले आफ्नो निर्णयको बचाउ गरेका छन्। तर उनका समर्थकले भने यो निर्णयलाई चीनका सामु फेरि खुट्टा कमाएको भनेर बुझेका हुन सक्छन्।
दोस्रो कार्यकालको सुरूमा चीनसँग व्यापार युद्ध सुरू गरेका ट्रम्पपछि चीनसामु झुकेका थिए। त्यसैले उनका समर्थकहरू अहिले ट्रम्पको स्पष्टीकरणबाट समेत सन्तुष्ट भएका छैनन्।
'हामी किन ६ लाख चिनियाँ विद्यार्थीलाई हाम्रा अमेरिकी विद्यार्थीहरूको अवसर खोस्न दिइरहेका छौं? हामीले कहिल्यै त्यसो गर्न दिनु हुँदैन,' ट्रम्पका सबभन्दा उग्र समर्थकमध्ये मानिने प्रतिनिधि सभा सदस्य मार्जोरी टेलर ग्रीनले सामाजिक सञ्जाल एक्समा पोस्ट गरिन्।
ट्रम्प समर्थकका वैचारिक गुरू मानिने स्टीभ ब्याननले मंगलबार भने, 'यहाँ आउने कुनै पनि विदेशी विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा तत्कालै देश छोड्ने ‘एक्जिट’ भिसा टाँस्नुपर्छ। उनीहरूलाई ३० दिनको समय दिनुहोस्।'
ट्रम्प सरकारले यो घोषणाको बचाउमा दिएको तर्कलाई उनले अचम्म लाग्ने गरी हाँस्यास्पद पनि भनेका छन्।
फक्स न्यूजकी लउरा इन्ग्रामले 'कम्युनिस्ट देश चीनका ६ लाख विद्यार्थीलाई अनुमति दिनुले कसरी 'अमेरिका फर्स्ट' नीतिलाई समर्थन गर्छ?' वाणिज्य मन्त्री हावर्ड लटनिकलाई भनेर सोधिन्। लटनिकले ती विद्यार्थीहरू नहुँदा 'तल्लो तहका १५ प्रतिशत विश्वविद्यालय र कलेजहरू बन्द हुनेछन्' भनेर बचाउ गरे।
अवैध आप्रवासीको मुद्दा उछालेर दोस्रो कार्यकाल जितेका ट्रम्प अमेरिकामा रहेका सबै विदेशीप्रति आक्रामक देखिएका छन्।
चीनसँगको व्यापार युद्ध चर्किंदै जाँदा केही महिनाअघि उनको सरकारले चिनियाँ विद्यार्थीहरूको भिसा आक्रामक रूपमा रद्द गर्न सुरू गर्ने भनेको थियो।
अमेरिकी विदेश मन्त्रालयले संघीय गृह प्रशासनसँग मिलेर चिनियाँ विद्यार्थीहरूको भिसा आक्रामक रूपमा रद्द गर्न काम गर्नेछ भनेर अमेरिकी विदेशमन्त्री मार्को रूबिओले मे महिनामा एक वक्तव्य नै निकालेका थिए।
तर चीनले खुट्टा नकमाएपछि अन्ततः ट्रम्प नै झुके। चीनविरूद्ध घोषणा गरेको उच्च भन्सार दर फिर्ता लिए। अहिले पनि चीनलाई खुसी पार्न उनले छ लाख चिनियाँ विद्यार्थीलाई अमेरिकामा पढ्न दिने घोषणा गरेको ठानेर उनका कट्टर समर्थकहरू रिसाएका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)