प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले शपथ लिएकी छन्।
सभामुख देवराज घिमिरेले बुधबार आयोजित एक समारोहबीच सभापति न्यौपानेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
राज्य व्यवस्था समिति सभापतिका लागि मंगलबार भएको मनोनयनमा नेपाली कांग्रेसकी सांसद न्यौपानेको मात्रै उम्मेदवारी परेको थियो।
उनी निर्विरोध सभापति चयन भएकी थिइन्। यसअघि उनी संसदीय सुनुवाइ समितिकी सभापति थिइन्। संसदीय सुनुवाइ समिति सभापति पदबाट मंगलबार नै राजीनामा दिएर उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दिएकी थिइन्।
न्यौपानेको उम्मेदवारीमा कांग्रेस सांसद रामहरि खतिवडा प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ समर्थक थिए।
यसअघिका राज्य व्यवस्था समिति सभापति खतिवडाले साउन २७ गते पदबाट राजीनामा दिएका थिए। उनी कुलिङ पिरियड त्रुटिमा नैतिक जिम्मेवार रहेको संसदीय छानबिन समितिले ठहर गरेको थियो।
यो पनि: सुनुवाइ समिति सभापति छाडेको केही घन्टामै राज्य व्यवस्थाको सभापति बनिन् ईश्वरीदेवी