कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको आम सञ्चार विधेयकमा नेपाल पत्रकार महासंघ सहितका सरोकारवालाले देखाएको चासोलाई गम्भीरतापूर्वक लिएको बताएका छन्।
कोशीको न्याय, प्रशासन तथा विधायन समितिले प्रतिवेदन पेस गरेपछि पारित हुने चरणमा रहेको विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधानहरू रहेको भन्दै महासंघ सहितका संघसंस्था आन्दोलित बनेका छन्।
मंगलबार आफ्नै कार्यकक्षमा महासंघ नेतृत्वको टोलीसँग भेट गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘अहिले बनेको विधेयकमा थप छलफल गर्नुपर्ने देखियो, विधेयकमा उठेका प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। प्रेस स्वतन्त्रता र संविधानले प्रत्याभूत गरेका अधिकारका विषयमा म प्रतिबद्ध छु, पत्रकारहरूको मागलाई सकारात्मक रुपमा लिएको छु।’
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको नेतृत्वमा ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्रीले यस्तो आश्वासन दिएका हुन्।
महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले आमसञ्चार विधेयकले प्रेस स्वतन्त्रतालाई खुम्च्याउने गरी उल्लेख गरेका दफाहरूबारे मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए।
मुख्यमन्त्री कार्कीले आफू कोशी प्रदेशमा आएदेखि नै पत्रकारिता क्षेत्रका लागि बलियो संस्था बनाउने इच्छा रहेको उल्लेख गरे।
अहिले आफू मुख्यमन्त्री भएको बेलामा विधेयकमार्फत पत्रकारिता क्षेत्रलाई समेट्न खोजेपनि विभिन्न विषयमा छलफल गर्न बाँकी देखिएको उनले बताएका हुन्।