नागरिक उन्मुक्ति पार्टीका नेता धनिराम चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन्।
२०७९ को प्रतिनिधि सभा चुनावमा चौधरी नाउपाबाट रूपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार थिए। उनी नेकपा (एमाले) का उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए भने त्यसबेला चौथो धेरै मत प्राप्त गरेका थिए।
उनले त्यसबेला १३ हजार ९ सय ६२ मत ल्याएका थिए।
चौधरीलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा प्रवेश गराएका हुन्। धनिरामलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष सिके राउतले जित सुनिश्चित रहेको बताएका छन्।
रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचन आउन लागेका बेला धनिराम नाउपा छाडेर जनमत पार्टीमा प्रवेश गरेका हुन्। उनलाई जनमतले उपनिर्वाचनमा उम्मेदवार बनाउने सम्भावना छ।
धनिराम नाउपाबाटै रूपन्देही ३ मा उम्मेदवार बन्न चाहन्थे। तर निर्वाचन आयोगले नाउपा दल दर्ता नै गरिदिएन। नाउपाका संरक्षक रेशम चौधरीले रूपन्देही ३ मा उमाशंकर चौधरीलाई उम्मेदवार बनाउन खोजेका छन्।
नाउपाबाट उम्मेदवारी दिने र नाउपा संरक्षक चौधरीबाट समर्थनसमेत आफूले नपाउने अवस्था देखेपछि धनिराम पछिल्लो समय रास्वपासँग पनि छलफलमा थिए। रास्वपाले पनि रूपन्देही ३ मा टिकट दिनुअघि ९ जना आकांक्षीलाई विभिन्न गतिविधिमार्फत् प्रतिस्पर्धा गराइरहेको छ। रास्वपामा सम्भावना नदेखेपछि उनी जनमत पार्टीमा प्रवेश गरेका छन्।