अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पेन्टागनको गुप्तचर विभाग डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डिआइए)का प्रमुख लेफ्टिनेन्ट जनरल जेफ्री क्रुसलाई बर्खास्त गरेका छन्।
शुक्रबार पेन्टागन (अमेरिकी रक्षा मन्त्रालय)ले एक विज्ञप्ती जारी गरि लेफ्टिनेन्ट जनरल जेफ्री क्रुसलाई बर्खास्त गरिएको जानकारी दिएको छ।
क्रुसबाहेक थप दुई जना उच्च सैन्य अधिकारीहरूलाई पनि बर्खास्त गरेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मन्त्री हेगसेथले अमेरिकी नौसेना रिजर्भका प्रमुख र नौसेना विशेष युद्ध कमान्डका कमान्डरलाई पनि पदबाट हटाउने आदेश दिएका छन्।
तीनै जनालाई पदमुक्त गर्नुको कारण भने पेन्टागनले अहिलेसम्म खुलाएको छैन।
उनीहरूलाई जिम्मेवारीबाट हटाउनुको कारण इरानमा अमेरिकी हमलापछि सार्वजनिक भएको प्रतिवेदन हो भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स लगायत विभिन्न सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
इसराइल र इरानबीच युद्ध चलिरहँदा गत जुन २२ मा अमेरिका पनि इरानविरूद्धको युद्धमा होमिएको थियो।
अमेरिकाले शक्तिशाली जिबियू-५७ बंकरभेदी बम इरानको तीनवटा परमाणु अड्डामा खसालेको थियो।
नतान्ज, फर्दो र इस्फहानमा रहेका परमाणु भट्टीहरू ती हमलाबाट कामै नलाग्ने गरी ध्वस्त भएको भनेर आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षामन्त्री हेगसेथले बताएका थिए।
तर केही दिनमै पेन्टागनकै अधिकारीहरूलाई उद्धृत गरेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरानका परमाणु अड्डामा अमेरिकी हमलाबाट पुगेको क्षतिको प्रारम्भिक मूल्यांकन सार्वजनिक गरेका थिए।
प्रारम्भिक मूल्यांकनमा अमेरिकाले ठूलो संख्यामा शक्तिशाली बंकरभेदी बम खसालेको भए पनि इरानको परमाणु कार्यक्रम राष्ट्रपति ट्रम्प र रक्षामन्त्री हेगसेथले भनेजस्तो कामै नलाग्नेगरी ध्वस्त नभएको भनिएको थियो।
प्रारम्भिक प्रतिवेदनले इरानको परमाणु कार्यक्रम केही महिनामात्रै पछाडि धेकेलिएको भनेर पेन्टागनका गुप्तचर अधिकारीहरूलाई उद्धृत गरिएको समाचार सार्वजनिक भएका थिए।
पहाडको गहिराइमा रहेको फर्दो परमाणु भट्टीमा भएको हमलाबाट भूमिगत सुविधाको प्रवेशद्वार बन्द गरेको तर भित्री संरचना र युरेनियम भण्डारमा ठूलो क्षति नभएको प्रतिवेदनले खुलाएको थियो।
अमेरिकाको हमलाअघि नै फर्दोबाट युरेनियम र महत्त्वपूर्ण उपकरणहरू हटाइसकेको भनिएको थियो।
त्यतिबेला मक्सर टेक्नोलोजिजले स्याटलाइट तस्बिर पनि सार्वजनिक गरेको थियो। त्यसमा हमलाअघि फर्दोको आणविक भट्टी प्रवेशद्वारमा धेरै संख्यामा ट्रकहरू देखिएको थियो। त्यसले पनि युरेनियम र महत्त्वपूर्ण उपकरण इरानले अगाडि नै अन्यत्र सारेको हुनसक्ने आकलन थियो।
अत्यन्तै गोप्य राखिएका ती प्रारम्भिक प्रतिवेदन लिक गरिएको भनेर ह्वाइट हाउसले त्यतिबेलै खण्डन गरेको थियो। ह्वाइट हाउसले त्यसलाई अमेरिकी बहादुर सैनिक र पाइलटहरूको अवमूल्यन गर्ने प्रयास भनेको थियो।
पछि नेटो राष्ट्रहरूको शिखर सम्मेलनमा रक्षामन्त्री हेगसेथले पनि उक्त प्रतिवेदन कमजोर खुफियामा आधारित भएको बताएका थिए र रिपोर्ट चुहावटबारे एफबीआइले छानबिन गरिरहेको बताएका थिए।
कुनै पनि कारण सार्वजनिक नगरी गुप्तचर निकाय प्रमुख र उच्च सैन्य अधिकारीहरूलाई हटाएको भन्दै सिनेटको गुप्तचरसम्बन्धी छनोट समितिका उपप्रमुख मार्क वार्नरले राष्ट्रपति ट्रम्पको 'खतरनाक बानी'प्रति चिन्ता व्यक्त गरे।
'एकपछि अर्को वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीलाई बर्खास्त गरिनुले ट्रम्प प्रशासनको खतरनाक बानीलाई दर्शाउँछ। यसले गुप्तचरलाई हाम्रो देशको सुरक्षाको कवचको रूपमा नभई वफादारीको परीक्षाको रूपमा व्यवहार गरिरहेको छ,' उनले भने।
यो कदमलाई ट्रम्प प्रशासनले आफूसँग विचार नमिल्ने वर्तमान र पूर्व सैन्य, गुप्तचर तथा कानून प्रवर्तन अधिकारीहरूलाई दण्डित गर्ने पछिल्लो प्रयासको रूपमा हेरिएको छ।
यसअघि अप्रिलमा, ट्रम्पले राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) का निर्देशक जनरल तिमोथी हगलाई बर्खास्त गरेका थिए। सोही क्रममा ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का एक दर्जनभन्दा बढी कर्मचारीहरूलाई पनि हटाइएको थियो।
हेगसेथले पेन्टागनका वर्दीधारी सैन्य अधिकारीहरूमाथि पनि कारबाही गरेका छन्।
फेब्रुअरीमा उनले ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष, वायुसेना जनरल सी.क्यू. ब्राउनलाई पदबाट हटाएका थिए। उनीसँगै अन्य पाँच एडमाइरल र जनरलहरूलाई पनि बर्खास्त गरेका थिए।
यसै साता अमेरिकी वायुसेना प्रमुखले आफ्नो कार्यकालको आधा अवधिमै अवकास लिने आश्चर्यजनक घोषणा गरेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)