सत्तारूढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारमा रहेका दलहरूको ढंग नपुग्दा अहिले सिंगो देश एउटा ठगी अभियुक्तको पछि लागेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले सहकारी ठगीमा कांग्रेस, एमाले, माओवादी केन्द्रमा आबद्ध दर्जनौं मानिसहरू पुर्पक्षका लागि थुनामा, कोही धरौटीमा छुटेपनि देश एउटा ठगी अभियुक्तको वरिपरि घुमेको बताएका हुन्।
'कोही धरौटीमा छुटेका छन्, कोही पुर्पक्षमा छन्, कोही फरार छन् खोजी भइरहेको छ। यही गोर्खा मिडियासँग आबद्ध दर्जनौं मानिसहरू भित्र छन्। तर एउटा ठगीका अभियुक्तको वरिपरि देश घुमेको छ,' उनले भने।
उनले प्रतिपक्षी दलले आफ्नो पार्टीका नेतालाई सरकारले पूर्वाग्रहपूर्व राख्यो कि भन्नु अस्वाभाविक नहुने बताए।
तर सातवटा अदालत र सर्वोच्च अदालतले पनि ठगीमा संलग्न भएको देखाउँदा पनि प्रतिशोध लिएको देखाउन पूर्वप्रधानमन्त्रीहरूको समेत दौड चलेको बताए।
'सर्वोच्च अदालतले त यो-यो कारणले गर्दा ठगीमा संलग्न भएको देखिन्छ भनेर ८ वटा बुँदाम बताएर नवौं बुँदामा त्यसकारणले म तिमीलाई बाहिर छोड्न सक्दिनँ भन्दै गर्दा कोकोहल मच्चाएर पूर्वप्रधानमन्त्रीहरूको दौड छ अहिले। कल्ले पहिले भेट्ने कहिले पहिले ढ्याप्प गर्ने भनेर,' उनले भने।
त्यही मुद्दामा छविलाल भन्ने नागरिक छ भन्ने सम्झना कसैलाई नभएको उनले बताए।
'यत्रो ठूलो कोकोहाल बनाइएको छ। राज्यले प्रतिशोध लिएको भन्ने स्थिति बनाइएको छ। हामी निकम्मा भएर हो। गर्न सक्ने काम नगरेर हो,' उनले भने।
प्रतिशोध साँधिएको भन्ने भाष्य चिर्न तीनवटा काम तत्काल गर्नुपर्ने उनले बताए।
'लाइन लगाएर बचतकर्ताको बचत फिर्ता गरौं। सहकारीको ठगीमा कोही मान्छे संलग्न छ भने कांग्रेस होस् एमाले होस् एउटा दयामाया नराखौं त। पाता कसेर लैजाऔं त ।सहकारीबारे प्रतिवेदनले दिएको सबै सुझाव कार्यान्वयन गरौं त। कसले प्रतिशोध भन्न सक्छ,' उनले भने।
उनले सरकारमाथि सेलेक्टिभ भएको भन्ने आरोप लाग्नु स्वाभाविक भएको पनि बताए।
'जापान मानिस लिएर गएर छाडिएको विषयमा दयामाया नराखेको भए अहिले अमेरिका मान्छे लिएर गएर छाडेकालाई कारबाही गरौं भन्दा हल्ला हुन्थ्यो। एक स्वरले गरौं गरौं भन्थे। हिजो जापान लिएर जानेलाई बढी माया गरेपछि अहिले अमेरिका लिएर जानेलाई कारबाही गरौं भन्दा सरकार तिमी सेलेक्टिभ भयौं, ठूला पार्टी सेलेक्टिभ भयौ भन्न प्रश्न उठ्दैन?,' उनले भने।
हेर्नुस पूरा भिडिओः