पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राष्ट्रपति भएर नेपालको गौरव बढ्ने गरी काम गरेको बताएकी छन्।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले देशको राष्ट्रपतिले गर्नुपर्ने भूमिका मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी काम गरेको बताइन्।
राष्ट्रपति हुँदा आफूले गरेको कामहरू इतिहासको पानामा खुला रहेको भन्दै आफू पनि आलोचना भन्दा बाहिर नरहेको बताइन्। तर तथ्यका आधारमा आलोचना हुनुपर्ने उनको भनाइ छ।
आफू नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्ने पनि उनले स्पष्ट पारिन्। आफूलाई केहीले नेता मान्ने गरेको तर च्यासलले संगठित सदस्यमै प्रश्न उठाएको उनले टिप्पणी गरिन्।
उनले भनिन्, ‘हुन तः मेरो सदस्यताको बारेमा प्रश्न छ। साथीहरू नेता भन्छन्। पार्टीको संगठित सदस्यमै प्रश्न उठाएको छ, यो च्यासलले। नेकपा एमाले अहिले भयो, मैले नेकपा माले हुँदादेखि नै सदस्य भएको हो। २०३७ सालमा सदस्यता लिएको हुँ। ४५ वर्ष भएछ। राष्ट्रपतिको शपथ खाने बेलामा नेकपा एमालेको सदस्य भएको ३५ वर्ष भएको थियो। पार्टीले विशेष निर्णय गरेर जानैपर्छ भन्यो। मैले गएर शपथ खाएँ। मैले यो देशको राष्ट्रपतिले गर्नुपर्ने भूमिका एकदम मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी गरेको छु। यो सबै इतिहासको पाना खुला छन्। मैले सार्वजनिक रूपमा भनेको छु, म आलोचनाभन्दा बाहिर छैन। तर तथ्यका आधारमा हुनुपर्छ। म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु। म गरिरहन्छु।’
पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको मर्मअनुसार काम भयो कि भएन भनेर समीक्षा गर्ने बेला भएको बताइन्।—न्युज एजेन्सी नेपाल