नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सहकारी ठगीको अभियोगमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार पुगेर भेटका छन्।
भेटपछि प्रचण्डले लामिछाने दुब्लाएको बताए।
‘उहाँ दुब्लाउनुभएको छ,’ प्रचण्डले भने, ‘उहाँको भाषामा भैरहवामा गोलघर जसरी राखिएको रहेछ। उहाँले म पीडामा थिएँ भन्नुभयो।’
लामिछानेले नख्खुमा भैरहवाको तुलनामा राम्रो खानपिन र बसाइँ भएको प्रचण्डलाई बताएका थिए।
प्रचण्डसँगको भेटमा लामिछानेले मुद्दा र राजनीतिबारे समेत गफिएका थिए।
'मेरो जस्तो मुद्दामा उन्मुक्ति पाउने र मलाई मात्र लखेटियो भन्नुभयो,' प्रचण्डले भने।
प्रचण्डले भने आफूले विभिन्न कार्यक्रम र सभामा रवि लामिछानेको विषयमा बोलेको उल्लेख गरेका थिए।
‘अदालतले नै तोकेको बिगो बराबर धरौटी राखेर मुद्दा लड्छु भन्दाभन्दा पनि मैले सुविधा पाइनँ। सरकार र यो गठबन्धनले मसँग अनुदार भएर विभेद किन गर्यो मैले बुझ्न सकेको छैन भन्ने उहाँको धारणा थियो,’ भेटपछि प्रचण्डले भने, ‘उहाँको लजिक सबैले विचार गर्नैपर्ने लजिक भयो।’
आफूलाई हिरासतमा राखेर कांग्रेस र एमालेले खुट्टामा बञ्चरो हानेको टिप्पणी लामिछानेले प्रचण्डसँग गरेका थिए।
‘धेरै पोलिटिकल कुरा धेरै हामीले गरेनौँ। उहाँमाथि भएको विभेद कम होस्। वातावरण सहज होस् भन्ने कुरा हो,’ प्रचण्डले भने, ‘उहाँलाई राजनीतिक रूपले कांग्रेस र एमालेले जसरी व्यवहार गरेको देखिएको छ। त्यसले उहाँ र उहाँको पार्टीलाई देशभरि फाइदा भएको छ भन्ने राम्ररी बुझ्नु भएको रहेछ।’
प्रचण्डले भेटमा उपसभामुख इन्दिरा रानामगरको विषयमा पनि कुरा भएको बताए।
‘उपसभामुखको विषयमा पनि कुरा भयो। उपसभामुखलाई हटाउने र झम्टने काम यो गठबन्धनले गरेको छ। त्यो विचरा इन्दिरा। आदिवासी जनजाति महिला। सामाजिक सेवामा समर्पित भएर राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्व बनाएको मान्छे हो,’ प्रचण्डले भने, ‘सानो टेक्निकल विषय। उहाँ (विदेश) गएको पनि होइन। सानो विषयमा जे भएको छ, गलत भएको छ।’
नेपाली कांग्रेस र नेकपा एमालेले भिजिट भिसामा केही व्यक्तिलाई अमेरिका लगिदिन्छु भनेर पत्राचार गरेको विषयमा उपसभामुखलाई हटाउने प्रयत्न अघि बढाएका छन्। तर प्रचण्डले भने उक्त पत्राचारलाई सानो ‘टेक्निकल विषय’ का रूपमा टिप्पणी गरेका छन्।
‘जे भएको छ, ठूलो अन्याय भएको छ। निरंकुशतातर्फ गठबन्धन गएको छ भन्ने बुझाइ छ,’ प्रचण्डले भने, ‘इन्दिराप्रति गर्न खोजेको व्यवहार, इन्दिरा माथिको होइन संविधान लोकतन्त्र र सिस्टम माथिको प्रहार हो।’
प्रचण्डले ‘इन्दिरालाई देखाएर संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा भएको’ टिप्पणी गरे।
‘सरकारले जे गरेको छ। कांग्रेस र एमालेको स्थिति धेरै खस्किएको छ। कसरी नबुझेको होला भन्ने लाग्छ,’ प्रचण्डले भने, ‘जनता कांग्रेस र एमाले विरोधी भइसके। उहाँहरू सत्तामा बस्दासम्म अन्धो मान्छे जस्तो हुनुहुन्छ।’